चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई सञ्चालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका विपद् व्यवस्थापन स्वयंसेवकहरुको लागि चैत्र ४ गते देखि १४ गतेसम्म विभिन्न ३ समुहमा सञ्चालित प्रशिक्षणका सहभागिहरुलाई एक कार्यक्रमका बीच चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले प्रमाणपत्र तथा टिसर्ट वितरण गर्नुभयो । समापन कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्धेश्यका साथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्ने भनेको समुदायका मानिसहरुनै हुने भएकाले समुदायका मानिसहरुलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र शीप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण संचालन गरेको बताउनुभयो ।

उहाँले तालिमप्राप्त स्वयंसेवकहरु नगरपालिकाको पनि सम्पत्तिको रुपमा रहनु भएकोले निरन्तर रुपमा उहाँहरुको क्षमता अभिबृद्धि गर्ने तर्फ नगरपालिका सदैब लागिपर्ने कुराको प्रतिवद्धता ब्यक्त गर्नुभयो । आधारभूत प्रशिक्षण लिएर कार्य गर्नहुने स्वयंसेवकहरुमध्येबाट छनौट गरी कम्तीमा २५ जनालाई सशस्त्र प्रहरीबलसंगको सहकार्यमा अग्रवर्ती प्रशिक्षणमा सहभागि गराइने जानकारी पनि नगर प्रमुखले दिनुभयो । नगर प्रमुख खत्रीले विपद्को अवस्थामा खटिने स्वयंसेवहरुको लागि नगपालिकाले निःशुल्क विमा गर्नुका साथै न्यूनतम सुविधा उपलब्ध गराउने जानकारी पनि गराउनुभयो । चाँगुनारायण नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकी सदस्य निर्मला के.सीले प्रशिक्षणमा ३० जना महिला सहभागिता हुनु भनेको हरेक क्षेत्रमा महिला सहभागिताको उदाहरण रुपमा लिन सकिने बताउनुभयो ।प्रथम उद्धाकर्ताको रुपमा कार्य गर्न महिला दिदीबहिनीहरु अग्रसर हुनुले चाँगुनारायण नगरपालिकाको विपद् समावेशीताको सवाललाई सम्बोधन गरेको पनि बताउनुभायो । समापन समारोहका सभापति एवं चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रसाद प्रधानले नगरपालिकाले आगामी दिनमा थप प्रशिक्षणहरु संचालन गरी प्रत्येक टोलमा उद्धारकर्ता तयार गरिने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा आगलागी तथा बन डँढेलोका घटनाहरु भइरहेकाले यस तर्फ समुदायमा मानिसहरु सचेत हुन आग्रह गर्दै आगलागी सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने तर्फ लाग्नुहुन नगर प्रमुख खत्रीले सहभागि स्वयंसेवकहरुलाई अनुरोध गर्नुभयो । प्रशिक्षणमा चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका प्रगति र प्रयासहरु , खोज तथा उद्धारको परिचय, खतराको प्रकार र यसका विशेषताहरु, खोज तथा उद्धारको संरचना र टोली निर्माण, खोज तथा उद्धारका उपकरणहरु सुरक्षित र सुरक्षा, घटना आदेश प्रणाली, आधारभूत खोज विधि, संचार, समन्वय र प्रतिवेदन, आगोजन्य आपत्काल, उद्धारमा डोरीको प्रयोग अभ्यास, बाढी, पहिरो र भूकम्पको अवस्थामा बाहिर निकाल्ने तरिका अभ्यास, प्राथमिक उपचार परिचय, उद्धेश्य र सिद्धान्त, प्राथमिक उपचारका चार चरणहरु, स्वास्प्रश्वास समस्या (सि.पी.आर), रक्तश्राबको प्राथमिक उपचार, भँचाईको प्राथमिक उपचार, घाइतेको ओसारपसारजस्ता विषयहरुका बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो ।चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, विपद् प्रतिकार्य योजना, मनसुन प्रतिकार्य योजना, विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना लगायतका आवश्यक ऐन, नीति, नियम, निर्देशिका, योजनाहरु तयार गर्नुका साथै खुल्ला स्थानको पहिचान, जोखिम क्षेत्रको नक्सांकन, खोज उद्धार सामग्रीको भण्डारण, नगरपालिका तथा वडामा विपद् व्यवस्थापन समितिको गठन,विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण तथा प्रशिक्षण, विपद् जोखिम न्यूनीकरण सम्बन्धि संचारकर्मीहरुसंग कार्यशाला, भूकम्प सुरक्षा दिवस मनाउने लगायतका गतिविधिहरु संचालन गदै आइरहेकोछ । यस्तै आइसेट नेपाल र भूकम्प प्रविधि राष्ट्रिय समाजन नेपालसंग सहकार्य गरी समुदाय तथा विद्यालयमा विद्यालय सुरक्षा कार्यक्रम पनि संचालन गरिरहेको छ ।यसैगरी नगरपालिकाले स्थानीय विपद् प्रतिकार्यढाँचा तयारी, भूकम्पीय सुरक्षा सम्बन्धि कृत्रिम घटना अभ्यासको संचालन, वडास्तरमा आगलागी नियन्त्रण सम्बन्धि अभिमुखिकरण र अभ्यास प्रदर्शन, सडक सुरक्षा लगायतका गतिविधिहरु पनि संचालन गर्दैछ । तीन समुहमा तीन दिनका दरले ९ दिन सम्म नगरपालिकाको तालिम हल, हेल्मेटडाँडामा संचालन गरेकोे प्रशिक्षणमा ३० महिला र ५१ पुरुष गरी ८१ जनाको सहभागिता रहेको प्रशिक्षणको संयोजक चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले बताउनुभयो । सैद्धान्तिक र प्रयोगात्मक शीपको समेत अभ्यास गरिएको प्रशिक्षणमा प्रशिक्षकहरु शिबराम गौतम, राजुमार लम्साल, ऋषि खड्का, दिवाकर पौडेल, कविता बुढाथोकी लगायतले सहजिकरण गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *