१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ६० रनमै अल आउट

काठमाडौं । नेपाल ए ले आयरल्यान्ड वोभलसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको ठुलो हार व्यहोरेको छ ।

जारी सिरिजको दोस्रो खेलमा आज १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रन बनाएर अल आउट भएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९ बलमा १६ रन बनाउन सफल भए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएको थियो । आयरल्यान्ड ए का गेभिन होईले सर्वाधिक ५० रन बनाएका थिए भने कप्तान निल रकले ४५ रन बनाएका थिए । यस्तै आयरल्यान्ड ए का स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २-२ विकेट लिए ।

नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

यो सँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *