नेपाल ए तेस्रो एक दिवसीय खेलमा आयरल्यान्ड वुल्भससँग पराजित

काठमाडौं । नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड वुल्भससँग ६९ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ ।

आज सम्पन्न खेलमा आयरल्यान्ड वुल्भसले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भएपछि नेपाल ए ले उक्त खेल ६९ रनले पराजित भएको हो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन् । देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए ।

आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए । गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए । नेपाली बलर डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । विकास आग्री र साहब आलमले १-१ विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *