सरकारद्वारा लगानी सम्मेलनलाई लक्षित गर्दै कानुन संशोधनको तयारी

काठमाडौं । सरकारले आसन्न लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न १२ कानुन संशोधनको तयारी थालेको छ । लगानी भित्र्याउन कानुनी जटिलता फुकाउने तयारीमा रहेको सरकार आवश्यक परे कानुन संशोधनका लागि अध्यादेशको विकल्पमा समेत जाने तयारीमा छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई आज बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् । आगामी वैशाखमा आयोजना गरिने लगानी सम्मेलनले लगानीको वातावरण सुधार गर्ने विश्वास व्यक्त गरेका प्रधानमन्त्रीले वातावरण बनाउन आवश्यक सबै जटिलता फुकाउन सरकार तत्पर रहेको बताए ।

‘लगानीको वातावरण निर्माणका लागि आवश्यक कानुन निर्माण वर्तमान सरकारको उच्च प्राथमिकतामा छ,’ प्रधानमन्त्रीले भने, ‘सम्भव भएसम्म संसदबाट र नभए अध्यादेशमार्फत नै भए पनि कानुनी व्यवस्था सुधार गरेर लगानीको ढोका खोल्न सरकार तयार छ,’ उनले भने।

लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको उनको भनाइ थियो । ‘देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन्,’ प्रधानमन्त्रीले भने, ‘त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्राउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गर्नेछ र लगानीका लागि सरलीकृत नीति र प्रक्रिया निर्माण गर्नेछ ।’

सरकारले गरेको तयारीबाट लगानीका नयाँ–नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवं प्रतिबद्धताबमोजिम लगानी भित्र्याउन महत्त्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *