राष्ट्रपति र कतारका राजाबिचमा विविध कुराको चासो, आपसी सम्बन्ध मजबुत बनाउने बारे छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ ।

आज मात्र काठमाडौँ आईपुगेका शेख राष्ट्रपति रामचन्द्र पौड्लसँग राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । उक्त भेटमा दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । भेटमा नेपाल र कतारबिच भइरहेको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवं सल्लाहकार सहभागी थिए । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता थियो ।

भेटमा नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताएका छन् । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उनीहरुको भनाइ छ ।

पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतारलगायतका खाडीमुलुक पनि पानीको सङ्कटग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उनीहरुको आकलन छ ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका हुन । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *