मिलिजुली कालिञ्चोकद्वारा प्रदर्शनी कक्ष सञ्चालन कार्य विधि २०८० पारित

चरिकोट । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले लघुउद्यमी शेयर सदस्यको उत्पादनलाई बजारीकरण गर्ने भएको छ । यसका लागि संस्थाले सदस्यको उत्पादन प्रदर्शनी कक्ष सञ्चालन कार्य विधि २०८० पारित गरेको छ । संस्थाको कार्यविधि बमोजिम सदस्यहरुले उत्पादन कक्षमा आफुले उत्पादन गरेका वस्तु प्रदर्शनीमा राख्न सक्ने भएका छन् । शेयर सदस्यले उत्पादन गरेको नबिग्रने वस्तुको नमुनालाई र बिग्रने वस्तुको फोटोलाई उत्पादकको सम्पर्क नम्बरसहित संस्थाले प्रदर्शनी कक्षमा राख्ने भएको छ। संस्थामा आउने शेयर सदस्य, उत्पादन हेर्न आउने सम्भावित शेयर सदस्य तथा विभिन्न जिल्लाबाट सहकारी अध्ययन अवलोकनमा आउने अवलोकनकर्ताहरुले उक्त प्रदर्शनी कक्षमा अध्ययन गरी सामान किन्ने मनसाय भएमा सम्बन्धित वस्तु उत्पादकको सम्पर्क नम्बरमा सम्पर्क गरी सामान अर्डर गर्न सक्नेछन् ।

प्रदर्शनी कक्षमा राखिएका गुणस्तरीय सामानहरु भने उत्पादक शेयर सदस्यहरुले नै उपलब्ध गराई बिक्री गर्नुपर्नेछ। साथै, आगामी दिनमा सबैको सुझाव र आवश्यकता अनुसार सामान थपघट गरेर व्यवस्थित गर्दै लगिने संस्थाले जनाएको छ । यसका साथै प्रदर्शनी कक्षमा आफ्नो उत्पादन वा उत्पादित वस्तुको तस्विर राख्नको लागि आवेदन फाराम भनुपर्ने संस्थाले भनेको छ । आवेदन फाराम गुगल सिटको माध्यमबाट वा संस्थाको मुख्य कार्यालयमा आई निःशुल्क भर्न सकिनेछ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले सदस्यहरुलाई उत्पादनमा जोड्नका लागि शुरुवाती चरणमा काम अगाडि बढाएको बताए । संस्थाको आफ्नै भवनमा प्रदर्शनी कक्ष निर्माण गरेको र इच्छुक सदस्यहरुले आफुले उत्पादन गरेको वस्तुहरु प्रदर्शनी कक्षमा राख्न सकिने उनको भनाई छ । सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रीत नभई उत्पादन र उद्यमशीलतामा पन जोडिनु पर्छ भन्ने मान्यताका साथ काम अगाढी बढाएको उनले जानकारी दिए । विशेषतः दोलखामा उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्न प्रदर्शनी कक्षले सहयोग गर्ने उनको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *