हाम्रो जनकल्याण सहकारीद्वारा जेष्ठ सदस्यलाई सम्मान

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले गाउँगाउँमा उत्पादन र शहरमा पर्यटन व्यवसाय अहिलेको आवश्यकता भएको बताए । हाम्रो जनकल्याण साकोसले उद्यमी सदस्यसँग अन्तरक्रिया गरी व्यावसायिक ज्ञान सहित बजारीकरणका बारेमा जानकारी गराएकोमा धन्यवाद ज्ञापन गर्दै उद्यमी महिला सदस्यले उत्पादन गरेका वस्तुहरु बजारीकरणका लागि भीमेश्वर नगरले बिक्री कक्षको व्यवस्था गरिदिने उनले बताए । कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का महासचिव जिवसराज खडकाले हाम्रो जनकल्याण साकोस वित्तीय सुशासन कायम गर्दै सामाजिक गतिविधिमा समेत सक्रिय रहेको बताउँदै सदस्यलाई उद्यमी बनाउने र सदस्यको सफलताको कथालाई नै अभिलेखिकरण गरी सदस्यको आवाजको रुपमा बुलेटिन प्रकाशन गरेकाले यसले संस्थाको सक्रियतालाई झल्काएको जनाए ।

संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव शर्मिला सापकोटा, भीमेश्वर सहकारी सञ्जालका संयोजक कृष्ण बहादुर गौतम, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष राजन श्रेष्ठले शेयर सदस्यको बचत संकलन गरी ऋण परिचालनमा मात्र सीमित नभई संस्थाका सदस्यलाई आत्मनिर्भरताका लागि उद्यमी बनाउने अभियानमा रहेको बताए । अध्यक्ष श्रेष्ठले कानूनको पालना र इमान्दारिता नै हाम्रो सफलताको पहिचान भएको उल्लेख गरे । स्थापना दिवसको अवसर पाररे संस्थाले हाम्रो जनकल्याण सदस्यको आवाज नामक वार्षिक बुलेटिन बिमोचन गरेको छ ।

संस्थामा सदस्य बनेर विभिन्न शिषर्कमा ऋण लिएर व्यावसायिक कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका १० जना शेयर सदस्यको अनुभव तथा सफलताको कथालाई हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसीप अन्तरगत छानिएका पत्रकारहरुले तयार परेको अनुसन्धानात्मक लेख बुलेटिनमा राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए । त्यसैगरी सोही अवसरमा संस्थाका एक सय पाँच वर्षे शेयर सदस्य टेक बहादुर थापालाई जेष्ठ नागरिक सम्मान, आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीलाई हाम्रो जनकल्याण व्यक्तित्व सम्मान र हाम्रो जनकल्याण पूर्व सञ्चालक सम्मान कमल प्रसाद चौलागाई, उत्कृष्ट कर्मचारीका रुपमा सहायक पदमा कार्यरत सुनिता चौलागाई र बोच संस्कृति भजन मण्डलीलाई सम्मान गरेको छ । स्थापना दिवसकै अवसर पारेर हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसीप प्राप्त गर्ने पत्रकारहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । संस्थाले विगतदेखि वितरण गर्दै आएको ८० वर्ष माथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका शेयर सदस्यहरुका लागि प्रोत्साहन खर्च वापत दुई÷दुई हजार नगद वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए । संस्थाका सचिव अनिल रिजालले कार्यक्रमका स्वागत मन्तव्य सहित संस्थागत गतिविधिका बारेमा जानकारी दिएका थिए ।२०५४ साल बैशाख १७ गते स्थापना भएको हाम्रो जनकल्याण २८ औं वर्षमा प्रवेश गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *