अन्तिम खेलमा नेपालको शानदार प्रदर्शन

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए । अन्त्यमा कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए । उनले ३ चौका र ३ छक्का हिर्काए । वेस्ट इन्डिजका लागि ओबेड म्याकोयले ३ तथा म्याथ्यु फोर्डेले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए । जितका बावुजद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *