मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने, सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

काठमाण्डौं । मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। बैठक आझ साँझ साढे ५ बजेका लागि बोलाइएको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। ‘बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। यसअघि शुक्रबार तय गरिएको बैठक पनि स्थगित भएको थियो। एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा असहज मान्दै आएको छ। सुरूमा उनलाई मुख्यमन्त्रीसमेत स्वीकार गरेको थिएन। एमालेले सोडारीबाहेक अरूलाई मुख्यमन्त्री बनाउन भनेपनि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयबाटै निर्णय गरेर सुदूरपश्चिममा सोडारीलाई अघि सारेको थियो। त्यसबाट चिढिएको एमालेले विश्वासको मत दिने विषयमा आनाकानी गर्दै आएको छ। एमालेले विश्वासको मत लिनका लागि छलफल नै नगरी प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीले प्रस्ताव दर्ता गराएकाले आफूहरू आन्तरिक छलफलमा रहेको बताउँदै आएको छ।

शुक्रबार स्थगित गरी शनिबार बैठक बोलाइएपछि एमाले सुदूरपश्चिम संसदीय दल नेता राजेन्द्रसिंह रावल काठमाडौं गएका छन्। उनले यसबारेमा शीर्ष नेताहरूसँगै छलफल गरेर निर्क्यौल गरिने भनेका छन्। प्रमुख सत्ता साझेदार दलका नेता नै काठमाडौं हिँडेपछि मुख्यमन्त्रीले आजको बैठक स्थगित गर्न भनेका हुन्। सत्ता समीकरणमै रहेको दल विश्वासको मतबारे अन्योल देखिएपछि सुदूरपश्चिममा माओवादी केन्द्र र समीकरणमा रहेका अन्य दल सशंकित भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउने विषयमा नै संशय पैदा भएको नेताहरू बताउन थालेका छन्। यसबारे एमाले दलका नेता रावल भने सशंकित हुन आवश्यक नरहेको बताउँछन्।

‘अझै समय छ, मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्नुपर्ने कारण केही छैन, हामी आन्तरिक छलफल र परामर्शमा पनि छौं, त्यस्तो खास छुट्टै केही होइन आन्तरिक कुरा मिलाएर मत दिन्छौं । सोडारी एमालेका नयाँ निर्वाचित प्रदेशसभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदका समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए । एमालेमात्रै होइन सुदूरपश्चिम मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्तिमा पनि दुई धार छ । रेशम चौधरी पक्षले मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप नै लगाएको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ सांसद सरकारमा छन्। नागरिक उन्मुक्तिका रेशम पक्षका पाँच जना सासंद मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा छन्। मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *