गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । सोमबार (भोलि)सम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसको एक दिनअघि अधिकारीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । अधिकारी चैत २५ गते सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विश्वासको मत लिने कार्यसूची तय गरिएको कार्यव्यवस्था परामर्श समितिका सदस्य फणिन्द्र देवकोटाले जानकारी दिएका छन् । कार्यसूची तयसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउलान् वा फेरि विवादास्पद घटना होला भन्ने आमसंशय छ । अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेसम्म सरकार गठन गर्न दलहरूलाई आह्वान गरे ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजीव गुरुङ (दीपक मनाङे)को समर्थनसहित चैत २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निदेवन पेस गरेका थिए । उक्त निवेदनमा एमालेका २२ र माओवादीका आठ प्रदेशसभा सदस्य रहेको उल्लेख थियो । दलका नेताको हस्ताक्षर थियो । मनाङेले भने छुट्टै हस्ताक्षर गरेका थिए । तर, एमाले–माओवादी गठबन्धनले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा गरेको दाबी असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुखलाई असहमतिपत्र बुझायो । अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त नगर्न कांग्रेसले आग्रह गर्‍यो । तर, प्रदेश प्रमुखले उक्त आग्रह नसुनी गठबन्धनले गरेको दाबीलाई सदर गर्दै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *