बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेंगु संक्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०।८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४ सय ९ जना नयाँ डेंगु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी धादिङमा ३ हजार ५ सय १ र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेंगु संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा काठमाडौंमा ३ हजार, चितवनमा १ हजार ७ सय ८, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेपलाञ्चोकमा १ सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् । डेंगु संक्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै डेंगु संक्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक दिपकप्रसाद तिवारीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *