अष्ट्रेलिया अध्ययन थप महँगो

काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको छ । शुक्रबार १० मे देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७ सय १० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्छ । बितेको सात महिनामा यो दोस्रो वृद्धि हो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो । कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाइ गरिसकेको छ । अष्ट्रेलियाकी गृह मामिला मन्त्री क्लेयर ओनिलले ३४ शिक्षा प्रदायकहरूलाई गलत तरिकाले विद्यार्थी भर्ना गरेको चेतावनीसहित पत्र पठाइसकेको बताएकी छन् । विद्यार्थी भर्नामा नक्कली काम गरेको पाइएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय र विद्यार्थी भर्ना प्रतिबन्ध लगाउन सकिने उनले चेतावनी दिएकी रोयटर्सले जनाएको छ ।

विद्यार्थीको शोषण गर्ने र अष्ट्रेलियाको शैक्षिक प्रतिष्ठा धमिल्याउने गतिविधिलाई कुनै स्थान नदिने उनले स्पष्ट पारेकी छन् । आर्थिक व्यवस्थामा कडाइसँगै अब अष्ट्रेलियामा परिवारका सदस्यका साथ विद्यार्थी भिसा प्राप्त गर्न आवश्यक ८४ लाख ५ सय ४३ अष्ट्रेलियन डलरलाई बढाएर अहिले १ लाख २ हजार पाँच सय बनाइएको छ । अष्ट्रेलियामा अचाक्ली महँगी बढेको सन्दर्भमा ‘कस्ट अफ लिभिङ’ व्यवस्थित गर्न यो वृद्धि सामान्य नै रहेको अष्ट्रेलियामा कार्यरत रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ता बताउँछन् । ‘अस्ट्रेलियामा महँगी उच्च बढेको छ । महँगीले घरभाडा पनि बढेको छ । खानेकुरादेखि पेट्रोलियमसम्मको मूल्य बढेको छ’ गुप्ता भन्छन्, ‘बढ्दो महँगी अनुसार खर्च पनि बढ्छ, महँगीको अनुपातमा यो वृद्धि त्यति धेरै होइन । डिसेम्बरमा सरकारले ल्याएको आप्रवासन रणनीतिमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्यामा भारी कटौती गर्ने भनिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *