वल्डलिंकमा कसको कति लगानी ?

काडमाडौँ । नेपालको इन्टरनेट बजारमा ३० प्रतिशत हिस्सा ओगटेको वर्ल्डलिंक कम्युनिकेशनले २ वर्षअघि बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन डलर लगानी भित्र्याएको थियो ।

दुर्गम तथा इन्टरनेटको पहुँच नपुगेका देशका विभिन्न क्षेत्रमा वर्ल्डलिंकको सेवा बिस्तारको लक्ष्यसहित १० प्रतिशतको सेयरका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानी ल्याइएको थियो । मुलुकमा सञ्चालिन ५३ इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिंक विदेशी लगानी ल्याउने एकमात्रै कम्पनी हो ।

७० वर्षदेखि अफ्रिका र एशियामा लगानी गर्दै आएको सीडीसी ग्रुपको नेपालको इन्टरनेट कम्पनीमा गरिएको यो पहिलो लगानी थियो । सीडीसी ग्रुपसहित ९ जनाको स्वामित्वमा १२ लाख ९५ हजारभन्दा बढी कित्ता सेयर स्वामित्व छ ।

कम्पनीका अध्यक्ष दिलिप अग्रवालका नाममा ६ लाख ७० हजार १९८ कित्ता अर्थात् ५१.७ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीमा अग्रवालपछि सबैभन्दा धेरै सेयर स्वामित्व कार्यकारी निर्देशक मनोजकुमार अग्रवालसँग छ । उनका नाममा कम्पनीको २ लाख ७७ हजार ३५० कित्ता सेयर अर्थात् २१.४ प्रतिशत सेयर स्वामित्व छ ।

त्यसैगरी अश्विन जलानका नाममा १२ प्रतिशत अर्थात् १ लाख ५५ हजार ५८० कित्ता सेयर छ । कोरोना भाइरस संक्रमणका कारण पिता विजय कुमार जलानको निधन भएपछि उनको नाममा रहेको सेयर अश्विनका नाममा हस्तान्तरण गरिएको हो ।

कम्पनीमा सिडिसी ग्रुपको सेयर १० प्रतिशत अर्थात् १ लाख २९ हजार ६ सय कित्ता सेयर स्वामित्व छ भने ललिता अग्रवालका नाममा २.३ प्रतिशत अर्थात् ३० हजार कित्ता, केशव नेपालका नाममा १.९ प्रतिशत अर्थात् २४ हजार कित्ता सेयर छ ।

साथै, अमितजंग थिङका नाममा ०.७ प्रतिशत अर्थात् ९ हजार कित्ता सेयर छ भने विश्वनाथ प्रसाद अग्रवाल र लक्ष्मण कुमार यादवका नाममा एक÷एक कित्ता सेयर छ । कम्पनीमा सीडीसी ग्रुपको प्रतिनिधिका रुपमा अरुण एस करोटी प्रतिनिधि निर्देशक छन् भने डा. विन्दु नाथ लोहनी स्वतन्त्र निर्देशक छन् ।

विदेशी लगानी भित्र्याएसँगै कम्पनीले आक्रामक बजार बिस्तारको रणनीतिमा लागेको छ । २ वर्षअघि लगानीका लागि सम्झौता हुँदा वर्ल्डलिंकलाई विश्वकै उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी बनाउने योजनामा सहयोग पुग्ने बताएका थिए । कम्पनीले तत्कालीन समयमा कार्यरत ३ हजार कर्मचारीलाई बढाएर थप १ हजार रोजगारी सिर्जना गर्ने समेत लक्ष्य लिएको थियो ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले तत्कालीन समयसम्म कायम ३ लाख ३८ हजार ग्राहक संख्यामा २ वर्षको अवधिमा ६७ प्रतिशतले बढाएर कुल ५ लाख ६३ हजारभन्दा बढी ग्राहक संख्या बनाइसकेको छ । यसबीचमा कम्पनीले शाखा कार्यालय तथा नेटवर्क पनि बिस्तार गरिरहेको छ ।

२ वर्षको अवधिमा इन्टरनेट सेवा प्रदायक कम्पनी ३९ बाट बढेर ५३ पुग्दा बजार हिस्सा भने ४ प्रतिशतले गुमाएको छ । यद्यपि दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको बजार हिस्सा जम्मा १६ प्रतिशतमात्रै छ ।

मुलुकका ७३ जिल्लामा ८८ वटा शाखा कार्यालयमार्फत् सेवा बिस्तार गरिसकेको कम्पनीले पछिल्लो समय इन्टरनेटसँगै एचडी टिभी आइपीटिभीको सेवा पनि सँगै बिस्तार गरिरहेको छ

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका दिलिप अग्रवालले कम्पनीले आइपीओ ल्याउने तयारीमा कम्पनी रहेको केही समयअघिको पत्रकार सम्मेलनमा बताएका थिए । उनले तत्कालीन समयमा ३ वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने बताएका थिए । कम्पनी सन् २०१९ अप्रिल २४ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो ।

वर्ल्डलिंक कम्युनिकेशनको आम्दानी सन् २०१८ देखि २०२० सम्म ५८.७१ प्रतिशतले बढेको थियो । सन् २०१८ मा ४ अर्ब १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१९ मा ५ अर्ब ४ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, सन् २०२१ को पहिलो ६ महिनामा कम्पनीले ३ अर्ब ७५ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२१ मार्च महिनामा २ अर्ब २० करोड रुपैयाँको ऋणका लागि रेटिङ समेत गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *