बढ्दो वायु प्रदूषणबाट वृद्धवृद्धा बढी पीडित

काठमाडौँ । बेनी नगरपालिका–२ की ७२ वर्षीया यामकुमारी शर्मा विगत एक सातादेखि घाँटी चिलाउने, लामो समय नाक बन्द हुने, आँखा पिरो हुने र टाउको भारी हुने समस्याले ग्रस्त थिए । गत बुधबार अस्पतालमा गएर जाँच गराउँदा वातावरणीय प्रदूषणका कारण यस्तो समस्या आएको चिकित्सकहरुले बताएपछि उहाँले घरमा बस्दासमेत मास्क लगाउन सुरु गरेका थिए ।

शर्मा मात्रै होइन केही दिनयता बढेको वायु प्रदूषणका कारण म्याग्दीका बालबालिका र वृद्धवृद्धाहरु बिरामी पर्न थालेका छन् । आकाश धुम्मिने, घाम नलाग्ने, पानी नपर्ने, साबिकको भन्दा बढी हावाहुरी चल्ने, धुवाँ र धुलो फैलिनेजस्ता कारणले गर्दा यहाँका बासिन्दाहरु विगत एक सातादेखि समस्यामा छन् ।धुलो र धुवाँका कारण एलर्जी भएका बिरामीहरु पनि अस्पतालमा धाउन थालेका छन् । बेनी अस्पतालका डा.जितेन्द्र कँडेलले बिरामीलाई सकभर घरमै आराम गर्न सझाउँदै आएका छन् । बाहिर जानैपरे धुलो र धुवाँबाट बच्न चिकित्सकहरुले सुझाए पनि बाहिर निस्केपछि धुवाँ र धुलोबाट बच्न सक्ने अवस्था नरहेको सर्वसाधारण बताउँछन्। धुवाँ र धुलोका कारण फोक्सोको समस्या लिएर बिरामीहरु आउने गरेका अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार प्रदूषणबाट बच्नका लागि स्पेसल मास्क लगाउन अनिवार्य छ ।

उपचारका लागि आउने बिरामीहरुमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट उत्पन्न विभिन्न रोगका हुने गरेका उक्त अस्पतालले जनाएको छ । यतिबेला म्याग्दीको आकाश धुम्मिएको छ । वातावरणमा एक किसिमको पिरोपना फैलिएको महसुस स्थानीयवासीले गर्न थालेका छन् । विगत तीन दिनयता घाम पनि नलाग्ने र आकाशमा सफा बादल पनि नदेखिने गरेको स्थानीयवासी जीवन रेग्मी बताउनुहुन्छ । तरकारी, फलफूल, गहँु, केराउलगायत अन्य बालीका पातमा फुस्रोपना देखिएको र बोटसमेत ओइलाउन थालेको उनको भनाइ छ ।

विगत एक सातायता ग्रामीण क्षेत्रहरुमा बिरामी पनि बढेका छन् । विशेषगरी प्रदूषणजन्य रोगका बिरामीहरु देखिएकाले तीन–चार दिनसम्म उनीहरु अस्पतालमा जचाउन जाँदैनन् तर टाउको दुख्ने र घाँटीमा समस्या देखिन थाल्यो भने बल्ल उनीहरु अस्पताल आउने गरेका चिकित्सकहरुले बताएका छन् ।

वातावरणीय प्रदूषणले नाक, कान, घाँटीमा तत्काल समस्या पार्ने र दीर्घकालीनरूपमा मुटु, मस्तिष्क, फोक्सोलगायत विभिन्न भागमा असर गर्ने चिकित्सकहरुको भनाइ छ । “हावामा मिसिएका साना कण सासमार्फत शरीरभित्र सजिलै पस्छन् र रगतमा मिसिन्छन् जसका कारण दीर्घकालीन रोग लाग्छ,” ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे भन्नुहुन्छ, “वातावरण प्रदूषणले बालबालिका, वृद्धवृद्धा गर्भवती र प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा सोझै असर गर्छ ।”

वातावरण संरक्षण नियमावली २०५४ को नियम १५ अनुसार सरकारले वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ लागू गरेको छ । मापदण्डअनुसार एक वर्षमा १८ दिनभन्दा बढीको दूषित हावाले शरिरमा असर पार्छ । राष्ट्रिय मापदण्डमा नौ प्रदूषकलाई वायु प्रदूषणको परिधिभित्र राखिएको छ । स्वास्थ्य सेवा विभागले स्थापना गरेका विभिन्न केन्द्रबाट टिएसपी, पिएम–१० र पिएम–दुई दशमलव पाँच प्रपितशतको मात्रा मापन हुँदै आएको छ । राष्ट्रिय मापदण्डले एक वर्षमा ९५ प्रतिशत वातावरण सफा हुनुपर्ने उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *