लोसपाले जसपामाथि आरोप – जोसँग भए पनि सरकारमा प्रवेश गर्ने बाहेक अरु केही देखिंदैन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनता समाजवादी पार्टी (जसपा), नेपाललाई नेकपा (माओवादी केन्द्र)को भाई पार्टी भएको बताएको छ । लोसपाले शुक्रबार स्थानीय निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको घोषणामपत्रमा उक्त कुरा उल्लेख गरेको छ ।

‘संविधान सभालाई निर्णायक मोडमा पुर्याउन भूमिका खेलेको र मधेश आन्दोलनको दौरान अग्र मोर्चामा रहेको माउ पार्टी मधेशी जनाधिकार फोरम, नेपालको साखलाई धुलिसात गर्दै अहिले मधेशको मुद्दालाई नै बिर्सिएर जसपा, नेपाल नेकपा (माओवादी केन्द्र) को भाइ पार्टीको रुपमा देखिएको छ,’ लोसपाको घोषणापत्रमा भनिएको छ । सोच, व्यवहार र प्रस्तुतिका कराणले जसपा असान्दर्भिक हुँदै गएको लोसपाको निस्कर्ष छ । जसपा नेपालको लागि अहिले सत्ता प्राप्ति एक मात्र उदेश्य रहेको जनाइएको छ ।

‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कुनै समयमा समग्र मधेश र सबै मधेशीको प्रतिनिधित्व गर्थे तर अहिले उनको राजनीति केही सीमित जातीय समूहको तुष्टीकरणमा खुम्चिएको छ,’ लोसपाले घोषणापत्रमा भनेको छ, ‘यो पार्टीले मधेशी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेको मात्र नभएर समग्र मधेश–थरुहट आन्दोलनलाई अवमूल्यन गरेको छ ।’ जसपा नेपालले अहिले कुनै विचार, कुनै वर्ग वा कुनै मुद्दाको प्रतिनिधित्व नगर्ने दाबी लोसपाको छ ।

‘यसको एक मात्र उदेश्य जसरी पनि, जुनसुकै शर्तमा र जोसँग भए पनि सरकारमा प्रवेश गर्ने बाहेक अरु केही देखिंदैन । दुर्भाग्य नै भन्नु पर्ला, कुनै एक कालखण्डमा परिवर्तनको संवाहक भएको यो पार्टी अहिले जातीय मतको जोड–घटाउ, संसदको अंकगणित र अन्य कम्युनिस्ट पार्टीहरु जस्तै निम्नस्तरीय राजनीतिक उद्यमशीलतामा लिप्त भएर आपूmलाई औचित्यहीन, उदेश्यहीन र सन्दर्भहीन बनाउनमा व्यवस्त छ,’ लोसपाले जसपामाथि आरोप लगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *