थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार बालकुमारी शेरचनले एक हजार ५५ र उपाध्यक्षमा एमालेका उम्मेदवार सुमिता शेर्पाले एक हजार ८० मत पाएका छन् । अध्यक्ष ८९ र उपाध्यक्षमा ३२ मनान्तरले जितेका हुन् । गत स्थानीय तह चुनावमा थासाङको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जितेको थियो । थासाङको वडा नं १ मा कांग्रेसका सुरेश थकाली, २ मा एमालेका गौतम शेरचन, ३ मा कांग्रेसका हरिप्रसाद गौचन, ४ मा कांग्रेसकै नरेन्द्र शेरचन र ५ मा कांग्रेसका रुपेश तुलाचन विजयी भएका छन् ।

दुई हजार ७४७ जना मतदाता रहेको थासाङ गाउँपालिकामा शुक्रबार भएको मतदानमा दुई हजार २४० मत खसेको थियो । मुस्ताङको पाँचवटै स्थानीय तहको मतगणना सकिएको छ । घरपझोङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *