युनाइटेड ट्रेडर्सको कारोबार २०२१ मा ४.८६ अर्ब, एकैवर्ष ५२६ वटा गाडी बिक्रीे

काठमाडौँ । नेपालमा टोयोटा गाडी बिक्री गर्ने आधिकारिक कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २०२२ को पहिलो ६ महिनामा चार अर्ब ४४ करोड ५० लाख रुपैयाँको कारोबार गर्ने भएको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको रेटिङ विवरणमा २०२२ को पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो रकम बराबरको कारोबार गर्ने उल्लेख गरेको छ । जसअनुसार २०२२ मा कम्पनीले २०२१ भन्दा बढी व्यापार गर्ने देखिन्छ । २०२१ मा युनाइटेड ट्रेडर्सले चार अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । २०२० मा कम्पनीले तीन अर्ब ३० करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार २०२१ मा ४७ प्रतिशतले बढेको छ । २०२१ मा ५२६ युनिट गाडी बेचेको कम्पनीले २०२० मा ३१० युनिट मात्रै बिक्री गर्न सकेको थियो। कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा र आर्थिक क्रियाकलाप सामान्य अवस्थामा फर्किएसँगै टोयोटाका गाडीको व्यापारमा चमक देखिएको हो । २०२२ को पहिलो ६ महिनामा टोयोटाले ३०५ युनिट गाडी बेच्ने अनुमान गरिएको छ । टोयोटासँग देशका विभिन्न सहरी क्षेत्रहरुमा १० वटा डिलरहरु छन्। काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, बिराटनगर, जनकपुर, धनगढी, नेपालगंज र झापामा कम्पनीले टोयोटाको डिलर संचालन गरिरहेको छ। कम्पनीसँग थप तीनवटा आफ्नो शोरुम छन्। जसमध्ये एउटा गाडी बिक्रीका लागि र बाँकी दुईवटा स्पेयर पार्ट्सका लागि हुन्। दुईवटा भने सर्भिस सेन्टर कम्पनीले संचालन गरिरहेको जनाएको छ ।

सवारीसाधनलाई अझै पनि विलासी वस्तुको रुपमा सरकारले अत्यधिक कर लगाउने भएकाले चुनौति भने कायम रहेको केयर रेटिङ्न नेपालले उल्लेख गरेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै पेसेन्जर भेहिकल (जीप, कार, भ्यान) को एलसी खोल्न रोक लगाएको प्रभाव टोयोटामा पर्ने देखिन्छ। टोयोटाका गाडी उसैत बढी मूल्यका छन्। असार मसान्तसम्म एलसी खोल्न नपाइने भएकाले त्यसपछिको अवस्थामा के हुन्छ भन्ने व्यवस्थाले कम्पनीको वित्तीय अवस्था दर्साउने देखिन्छ । युनाइटेड ट्रेडर्समा सुरज वैद्यको ६० प्रतिशत, उनकी श्रीमती ऋतु सिंह वैद्यको ३० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत सेयर स्वामित्व छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *