दलहरुप्रति जनताको विश्वास घटेको होइन, उम्मेदवार छनोटमा कन्जुस्याइँ

हिरालाल तण्डुकार, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नं. ११, काठमाडौं

काठमाडौँ । समाजसेवाबाट राजनीतिमा उदायका स्थापित नेता हुन् हिरालाल तण्डुकार । काठमाडौंमा जन्मिएका उनी इमानदार नेता र असल समाजसेवी भनेर चिनिन्छन् । सधैं पार्टी र जनताका काममा दत्तचित्त उनी सिद्धान्त निष्ठ नेता र स्पष्ट वक्ता मानिन्छन् । सेवाभावले ओतप्रोत उनी जनताको काम नै आफ्नो कर्तव्य र दायित्व ठान्दछन् । उनै इमानदार नेता र कुशल समाजसेवी हिरालाल तण्डुकारसँग स्थानीय निर्वाचनमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश ः

तपाईं चुनाव जिताउन लाग्ने नेता, कार्यकर्ता र मतदातालाई के भन्नुहुन्छ ?
सर्वप्रथम त मतदान केन्द्रमा लामबद्ध भएर परिवर्तनको पक्षमा नेपाली कांग्रेसलाई जिताउनका लागि मतदान गर्ने मतदातालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । आफ्नो जनप्रतिनिधि आपैmले चुन्ने जुन प्रजातान्त्रिक प्रक्रिया छ, त्यसमा उहाँहरुको निष्ठापूर्वक सहभागिता हुनु मुलुकको लागि अत्यन्त सकारात्मक पक्ष हो । मैले मतदाताको घरदैलोमा गइरहँदा नेपाली कांग्रेस र मलाई मत दिनुहोस् मात्र भनिन । आफ्नो लागि सक्षम जनप्रतिनिधि चयन गर्नुस् र उसलाई भोट हाल्नुहोस् भनेर अनुरोध गरेँ । त्यसमा नेपाली कांग्रेसका तमाम साथीहरु, सम्पूर्ण प्रतिनिधिहरु मसँगै सहभागी हुनुहुन्थ्यो । उहाँहरुले जसरी जनतासँग अनुरोध गरेर सक्रियतापूर्वक मत माग्नुभयो, त्यसको लागि उहाँहरुप्रति मेरो उच्च सम्मान छ । मैले गरेका प्रतिवद्धताहरु उहाँहरुकै सल्लाह, सुझाव र सहयोगमा यथासम्भब पुरा गर्ने छु ।

यसपालि जनताले पार्टी र व्यक्तिमध्ये कसलाई महत्व दिएको पाइयो ?
पार्टीका हरेक साथीहरुले पार्टीका सिद्धान्त, निष्ठालाई महत्व दिएर चुनावमा जानु बहुदलीय व्यवस्थामा स्वाभाविक प्रक्रिया भयो । तर, ‘इन जेनरल’ मतदाता जो हुनुहुन्छ उहाँहरुले पार्टीसँगसँगै कस्तो व्यक्तिलाई निर्वाचित गर्दा हाम्रो वडा पालिकामा सहज हुन्छ । विकास निर्माण र सासाजिक न्यायमा कुन व्यक्तित्वले प्रभाव पार्छ भन्ने कित्ताबाट अत्यन्तै चलाखीपूर्ण ढंगले जनताले मतदान गरेको देखिएको छ ।

यसपालिको चुनावमा स्वतन्त्र उम्मेदवारको प्रभाव ठूलो देखियो नि अब दलप्रति जनताको विश्वास घटेको हो ?
स्वतन्त्र उम्मेदवारको सन्दर्भमा कुरा गर्नुपर्दा स्वतन्त्र उम्मेदवारले अहिले मात्रै चुनाव जितेको होइन । मसँग पुरानो अनुभव छ । २०३८ सालमा हामीहरु नै प्रतिनिधि भएर नानीमैयाँ दाहाललाई स्वतन्त्रबाट चुनाव जिताएका थियौं । त्यसबेला उनलाई जिताउन मेरो वडाबाट म नै प्रतिनिधि थिएँ । स्वतन्त्र उम्मेदवारलाई जिताउन सफल भइयो भनेर खुसियाली मनाइयो । पाँच वर्षे कार्यकालभरि त्यो क्षेत्रको विकास रोकिएको हामीलाई थाहै भएन । अहिले पनि काठमाडौं महानगरपालिकाभित्र स्वतन्त्र उम्मेदवारले जित्नुभयो । त्यसरी स्वतन्त्रले जितिरहँदा हाम्रो काठमाडौं महानगरपालिको विकासले गति लिन्छ कि लिँदैन । देशकै राजधानी रहेको काठमाडौं महानगरको काम गर्न बालेन्द्र भन्ने व्यक्ति मात्रै भएर हुँदैन । त्यसको लागि नीतिगत ढंगले अगाडि बढ्नुपर्ने हुन्छ । नीतिगत हुनलाई संस्थागत भएर अगाडि बढ्नुप¥यो । बालेन्द्र भनेर मात्रै हामीले चिन्दैनौं । त्यसको लागि उहाँले नीति कस्तो ल्याउनुहुन्छ । उहाँले नीति ल्याउँदा हामीले सहयोग गर्न सक्ने खालको ल्याउनुहुन्छ कि हुन्न । काठमाडौं महानगरपालिकाको विकासको लागि सुहाउँदो नीति ल्याउनुभयो भने हामीले सघाउन सक्छौं । काठमाडौैं महानगरपालिका र नेपाल सरकारले थाम्नै नसक्ने खालको नीति ल्याउनुभयो भने हामीले पनि सोच्नै पर्ने हुन्छ । त्यसकारण उहाँ अब कसरी अगाडि बढ्नुहुन्छ । अहिले पो उहाँ स्वतन्त्र देखिनुभएको छ भोलि गएर कसैलाई समाउनुहुन्छ कि । उहाँ एक्लै अगाडि बढ्ने हो कि कसैलाई समाउन जाने हो त्यो पनि हेर्न बाँकी छ । उहाँले सपथग्रहण गरेर एक÷दुईवटा बोर्ड बैठक बसिसकेपछि मात्रै हामीले बालेन्द्र शाहलाई चिन्दछौं । अहिले त बालेन्द्र भनेको को हो हामीले चिन्दैनौं ।

दोहोरिएका प्रायःले चुनाव हारेका छन्, तपाईं पटक–पटक विजयी हुनुको श्रेय कसलाई दिनुहुन्छ ?
व्यक्ति एक्लैको प्रयासले राजनीतिमा कोही सफल हुँदैन । त्यसमा पार्टी, नेता, सहकर्मी साथीहरु, कार्यकर्ता, शुभेच्छुकहरुको विश्वास, भरोसा सबैले साथ दिनुपर्छ । अझ महत्वपूर्ण पक्ष मतदाताहरुको विश्वास र भरोसा चाहिन्छ । त्यो मैले पाएको छु । ममाथि उहाँहरुले राम्रो विश्वास गर्नुभएको छ । त्यो नै मेरो सफलताको कडी हो । मलाई यहाँसम्म ल्याउने विश्वास गरेर टिकट दिने नेपाली कांग्रेस, निर्वाचन जिताउनका लागि लागिपर्ने यस वडाका नेता, कार्यकर्ता र आममतदाताहरु हुनुहुन्छ । त्यसैले काठमाडौं महानगरपालिका वडा नं. ११ मा वडा अध्यक्षको रुपमा मलाई जिताउन उहाँहरुको ठूलो हात छ । त्यसपछि मेरो कामको मूल्यांकन गर्ने सबै तहतप्काहरुको हात छ । त्यसकारण मेरो जितको श्रेय यस क्षेत्रका नेता, कार्यकर्ता र वडावासीलाई दिन चाहन्छु ।

महानगरको मेयरमा स्वतन्त्र व्यक्ति आइसकेपछि तपार्ईहरुलाई काम गर्न अप्ठ्यारो हुँदैन ?
सर्वप्रथम त काठमाडौं महानगर कसरी चलाउनुपर्छ भन्ने कुरा उहाँले जान्नुप¥यो । यो कुनै अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, सिंगापुर होइन । यो विसुद्ध काठमाडौं महानगरपालिका हो । यसको पहिचान र सिस्टमले चलाउँछु भनेर आउनुप¥यो । काठमाडौंको कला, संस्कार, संस्कृति, भेषभुषा, रीतिरिवाज र आवश्यकतालाई चिनेर काम गर्नुप¥यो । काठमाडौं महानगरपालिकाको आवश्यकता अनुसार विकासको नीति लिएर आउनुभयो भने हाम्रो सहयोग रहन्छ । यो बाहेक उहाँले व्यक्तिगत नीति लाद्न थाल्नुभयो भने सोच्नुपर्ने हुन्छ ।

तपाईं लगायत प्यानलै विजयी हुनुको जस कसलाई दिनुहुन्छ ?
हामीले पहिलो पाँच वर्षेकार्यकालमा सबैले मिलिजुली काम ग¥यौं । त्यसबेला मेरो कार्यसमितिका सदस्यहरुले पनि मैले भने अनुसार काम गर्नुभयो । मैले पनि उहाँहरुको चाहना अनुसार काम गरेँ । अघिल्लो कार्यकालमा सबै काम म अध्यक्ष लगायत सदस्यहरुको सरसल्लाहमै भयो । हाम्रो कार्यकालमा यस वडामा कुनै अनियमितताको काम भएन । सबैले इमानदारिसाथ काम गरियो । जुनसुकै काम पनि एउटाको मात्रै मन गरिएन, सबैको सरसल्लाहमा सर्वसम्मत ढंगले गरियो । कामको सिलसिलामा कहिल्यै पनि ठूलो पद, सानो पद भनेर छुट्ट्याउने काम भएन । अध्यक्ष, सदस्य सबैले समान हैसियतले काम गरियो । हाम्रो वडामा सबै जनप्रतिनिधिले जनताका आवश्यकता र चाहनामा मात्रै काम ग¥यौं । त्यही भएर पनि हामीलाई यस वडाका जनताले दोहो¥याएर विश्वास गरेका हुन् । त्यसैले जनप्रतिनिधिको निष्पक्ष काम र जनताको विश्वास नै हाम्रो जितको कडी हो भन्ने लाग्छ ।

अहिलेसम्म कतिपटक वडा अध्यक्ष हुनुभयो ?
योसमेत म यो वडाको तीन पटक अध्यक्षमा विजयी भएँ । तिनैपटक नेपाली कांग्रेसबाट टिकट पाएर मैले चुनाव जितेको हुँ । त्यस पहिला २०४३ सालमा पनि म चुनाव लडेको थिएँ । झिनो मतान्तरले पराजित भएँ । त्यसबेला पनि ३५ भोटको अन्तरले मात्रै हारेको थिएँ । देशमा बहुदलीय व्यवस्था आइसकेपछि नेपाली कांग्रेसको तर्पmबाट उठेदेखि अहिलेसम्म तीन पटक भयो । यस वडाबाट मैले सानदार मतसहित विजय हासिल गरिरहेको छु ।

अहिलेको चुनावलाई हेर्दा दलहरुप्रति जनताको विश्वास घटेको हो ?
अहिलेको चुनावी परिणामले दलहरुप्रति जनताको विश्वास घटेको होइन । यसमा दलहरुलाई अब सचेत भएर काम गर भनेर जनताको लौरोले हानेको हो । अहिलेको रिजल्टले दलहरुलाई अब पनि सचेत भएर काम गरेनौं । जनताको इच्छा, आकांक्षा अनुसार काम गरेनौं । भ्रष्टाचार रहित समाज र सुशासनको पक्षमा काम गरेनौं भने जनताले साथ छोड्छन् है भन्ने सन्देश हो । दलभन्दा पनि व्यक्तिको आचरणका कारण जनतामा धैर्यताको बाँध फुट्न लागेको हो । दल र व्यवस्थाविरुद्धको होइन, व्यक्तिगत क्रियाकलापविरुद्ध सन्देश हो ।

यो सन्देश त दलभन्दा व्यक्ति प्रधान रह्यो होइन ?
काठमाडौं भनेको सव्य, भव्य शहर हो । यहाँ दलहरुले उम्मेदवार तय गर्दा यहाँको आवश्यकता, भौगोलिक अवस्थिति, त्यसलाई बुझ्न सक्ने प्रतिनिधि छनोट गर्नुपर्ने हो । अब पार्टीहरुले उम्मेदवार चयन गर्दा उपयुक्त पात्र नभएर हुनसक्छ । त्यसैगरी कुनै व्यक्ति काममा ढिलासुस्ती गर्ने भएर होला । कुनैलाई जनताले राम्रो नचिनेको, जनतासामु नभिजेको व्यक्ति परेर होला । कतिपय ठाउँमा उम्मेदवार मन नपरेर होला । त्यसकारण दल, व्यवस्था मन नपराएर होइन । दलहरुले उपयुक्त व्यक्तिलाई पहिचान गरेर टिकट दिन नसक्नुको परिणाम हो चुनावमा हार खाएको । कुनै ठाउँ र व्यक्तिविशेषलाई लिएर सिंगो सिस्टम र दलहरुलाई नै नराम्रो भन्न मिल्दैन । त्यसैले उचित ठाउँमा उचित व्यक्ति छनोट नगरेर आग्रह, पूर्वाग्रहका आधारमा टिकट वितरण गर्दा केही सिटमा सबै दलहरु चुकेका छन् । तर, यसलाई लिएर सबै स्वतन्त्रले जित्यो, दलहरु केही होइनन्, सिस्टम केही होइन भन्न मिल्दैन । मैले अगाडि पनि भनिसकेको छु । स्वतन्त्र उम्मेदवार पञ्चायती व्यवस्था पनि पञ्चायतविरुद्ध उठेका हुन्थ्ये । त्यो बेलामा पनि केही जित्थे पछि हराउँथे त्यस्तै हो । अहिले पनि केही स्वतन्त्र व्यक्तिहरुले एकाद ठाउँमा चुनाव जित्दैमा दलहरु र त्यसका नेताहरु अत्तालिइहाल्नुपर्ने अवस्था छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *