इलाम–२ मा ५८ र बझाङ–१ ‘क’मा ५० प्रतिशत मतदान ः निर्वाचन आयोग

काठमाडौं । उपनिर्वाचनअन्तर्गत देशका दुई क्षेत्रमा शनिबार शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान भएको हो । इलाम–२ मा करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । “मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

बझाङको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले मिति २०८१।१।१६ गते बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ, विज्ञप्तिमा भनिएको छ । मतपेटिका गणनास्थलमा ल्याइसकेपछि मतगणना कार्य अघि बढाइने आयोगले जनाएको छ । “।मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिनेछ,” विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *