समाजसेवाबाट राजनीतिमा उदाएका स्थापित नेता हुन्, अशोक केसी

काठमाडौँ । बानेश्वरका स्थायी वासिन्दा केसी हाल काठमाडौं महानगरपालिका वडा ३१ को वडा सदस्य छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका केसी निकटतम प्रतिद्वन्द्वसँग फराकिलो मतान्तरले विजयी भएका हुन् । जनताको कामप्रति सधैं दत्तचित्त उनी असल समाजसेवी, कर्मठ नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । समाज सेवालाई केन्द्रमा राखेर पार्टी राजनीतिमा हात हालेका केसी जनताको सेवा नै जनप्रतिनिधिको कर्तव्य ठान्छन् । उनै केसीसँग स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा केन्द्रित रहेर कालिका महतले गरेका कुराकानीको सम्पादित अंश :

तपाईं काठमाडौं ३१ नम्बरको वडा सदस्यमा कांग्रेसको तर्फबाट एक्लै विजयी हुनुभयो, यसमा वडावासीलाई के भन्नुहुन्छ ?

यो जित मेरो मात्रै नभएर सर्वप्रथम काठमाडौं महानगरपालिका वडा नं. ३१ का वडावासीको त्यसपछि नेपाली कांग्रेसको हो । म त त्यसको प्रतिनिधित्व गर्ने व्यक्ति मात्रै हुँ । अहिलेका नागरिक पहिलाका जस्ता हुनुहुन्न । उहाँहरुले निकै विवेक पु¥याएर नै मलाई काठमाडौं महानगरपालिका वडा नं. ३१ को वडा सदस्यमा विजयी गराउनुभएको हो । उहाँहरुले विवेकपूर्ण ढंगले मलाई वडा सदस्य बनाइसकेपछि उहाँहरुको इच्छा, आकांक्षा र भावनामा कतै तलमाथि नहुने गरी मैले काम गर्नुपर्छ । काम गर्छु भन्दैमा वडामा ठूलो भवन बनाएर विकास भयो भन्नु स्वाभाविक हुँदैन । यहाँको भूगोल, जनताका इच्छा, आकांक्षा र भावनामा चोट नपुगोस् भनेर मेरो पार्टी नेपाली कांग्रेसले मलाई ३१ नम्बर वडामा टिकट दिएको हो । अब मैले जेसुकै भए तापनि पार्टीभन्दा एक कदम माथि उठेर सम्पूर्ण वडावासीको भावना अनुसार काम गर्नुपर्छ । चुनावका बेला कांग्रेस पार्टीको टिकट पाएर चुनाव जितेँ । अब मैले सम्पूर्ण वडावासीको आवश्यकता, चाहना र भावना अनुसार काम गर्नुपर्छ । त्यसमा दत्तचित्त भएर लागिपर्ने छु ।

पार्टीभन्दा माथि उठेर साझा रुपमा जनताको सेवा गर्नुहुृन्छ हो ?

मलाई नेपाली कांग्रेसले टिकट दिइरहँदा मैले पार्टीलाई सिरोपर गर्नुपर्छ । घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्योभन्दा महत्वपूर्ण कुरा पार्टी आफ्नो ठाउँमा सम्मानित छ । त्योभन्दा पनि सम्मानित भनेको यस वडाका नागरिकहरु हुन् । पार्टीले टिकट दिँदैमा म जनप्रतिनिधि भइहाल्ने होइन । म वडा सदस्य बन्नको लागि वडावासीको भावना समेट्न सक्नुपर्छ । त्यसमा मैले निकै हेक्का पु¥याएर काम गर्नुपर्छ । फेरि समाजसेवाट कांग्रेस राजनीतिमा आएको व्यक्ति हुँ । म राजनीतिको लागि होइन पार्टी र जनतालाई केही दिनको लागि आएको हुँ । हिजो म जनप्रतिनिधि नहुँदा पनि समाजसेवा अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको थिएँ । आज नेपाली कांग्रेसबाट टिकट पाएर वडा सदस्यमा निर्वाचित हुँदा पनि मैले काम गर्दा कहिल्यै पनि यो पार्टी, ऊ पार्टी भनेर नछुट्याइकन सबैको भावना समेटेर काम गर्छु । चुनाव अगाडि पार्टीको प्रतिनिधि भएपनि जनचिर्वाचित भइसकेपछि हामी जनप्रतिनिधि भइसकेका छौं । आउँदा दिनमा जनताको आवश्यक र समयको मागअनुसार दत्तचित्त भएर जनताका सेवामा समर्पित हुने छु ।

वडा अध्यक्षदेखि सदस्यहरु सबै पार्टीको प्रतिनिधि हुनुहुन्छ मेयर स्वतन्त्र हुनुहुन्छ काम गर्न कत्तिको सहज होला जस्तो लाग्छ ?

मेयरबाहेक सबै कुनै न कुनै पार्टीका प्रतिनिधि भएकाले अलिकति असहज जस्तो त देखिएको छ । तर, जनप्रतिनिधि भइसकेपछि सबैजना मिलेरै जानुपर्छ भन्ने लाग्छ । त्यसरी मेयर स्वतन्त्र रुपमा जित्नुभएको भन्दैमा कामै गर्न अप्ठ्यारो पर्ने भन्ने हुँदैन । मेयर उठाउनुभएका जाहेज कामको लागि सबै पार्टीहरुले पनि सहयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । त्यसमा मेयरले उठाउनु भएका विषयको पनि सम्वोधन हुनुपर्छ र वडा प्रतिनिधिहरुले उठाएका विषयको पनि सम्वोधन हुनुपर्छ । जनप्रतिनिधि भइसकेपछि जनताको आवश्यकता अनुसार काम गर्ने हो । वडा स्तरमा वडाको काम हुन्छ महानगरमा त्यही अनुसारको काम हुन्छ । यसमा यो पार्टी, ऊ पार्टी भन्ने हुँदैन । बहुदलीय व्यवस्थामा चुनावका बेला हामी सबै कुनै न कुनै पार्टीमा आवद्ध भएर आएका हौं । अब जनताले पत्याएर प्रतिनिधि छनोट गरिसकेपछि स्थानीय सरकारको काम, कर्तव्य र अधिकारभित्र रहेर जनप्रतिनिधिले गर्नुपर्ने काम रत्तिभर तलमाथि नगरिकन जनहितमा काम गर्ने प्रतिवद्धता जनाउँद छु ।

काठमाडौं महानगरको पहिलो बैठकमै विरोधका स्वरहरु धेरै बाहिर आए नि यसलाई कसरी लिनुभएको छ ?

फरक मत राख्ने, विरोधका स्वरहरु आउने त हरेक ठाउँमा हुन्छन् । त्यहीं पनि हाम्रो पहिलो बैठकमा खासै विरोध भएको होइन । काठमाडौं महानगरपालिकाका वडाहरुमा धेरै दिग्गज नेताहरुले चुनाव जित्नुभएको छ । कतिपय पाँच वर्षे कार्यकाल काम गरिसक्नुभएका नेताहरु पनि हुनुहुन्छ । त्यसैले उहाँहरुले विगतका अनुभव बताउनुभएको हो । त्यसलाई विवाद भन्न मिल्दैन । विभिन्न पार्टीबाट प्रतिनिधित्व गरेर आउनुभएका साथीहरु हुनुहुन्छ त्यसकारण पनि अलिअलि फरकमत राख्नु स्वाभाविक हो । त्यसमा आमजनता नै साच्छी हुनुहुन्छ । कसले राम्रो विषय उठाएको छ भन्ने कुरा जनताले बुझ्नुहुन्छ । मैले अगाडि पनि भनिसकेको छु । अहिलेका जनता पहिलाका जस्ता छैनन् । जनप्रतिनिधि छनोटका क्रममा पनि उहाँहरुले धेरै विवेक पु¥याएर मतदान गर्नुभएको छ । त्यसकारण जनप्रतिनिधि भइसकेपछि जनताको इच्छा, भावना अनुसार काम गर्नुपर्छ । राम्रो काम गर्दा कसैले विरोध गर्छ कि भनेर सोच्नुहुँदैन । त्यसैले काठमाडौं महानगरपालिकामा पनि मेयरले उठाएका राम्रा काममा सबैको सहयोग रहन्छ । र, हामीहरुले उठाएका राम्रा कामको पनि मेयर सम्वोधन गर्नुपर्छ ।

काठमाडौं सचेत नागरिक बस्ने ठाउँ, यहाँका वडा कार्यालयहरुबाट हुने काम एकदमै झन्झटिला हुन्छन् भनिन्छ त्यसलाई कसरी सहज बनाउनुहुन्छ ?

त्यो चाहीं जनप्रतिनिधि हुनुभन्दा अगाडि मैले भोगेको समस्या हो । त्यतिबेला कतिपय वडा कार्यालयबाट हुनुपर्ने काम लिएर आउँदा विभिन्न किसिमका झन्झटिला प्रक्रियाले दिक्क बनाउँथ्यो । त्यसमा नागरिकता, बसाइसारईँ, जन्म दर्ता, मृत्यु दर्ता, व्यवसाय दर्ता, सिफारिसलगायतका काममा वडा कार्यालय आउँदा विभिन्न समस्याहरु आउँथे । अब अहिले म पनि जनप्रतिनिधि भएर त्यहीं ठाउँमा आइपुगेको छु । हिजो आफु सर्वसाधारण हुँदा पाएको दुःख सम्झेर पनि सकेसम्म नागरिकको काम सर्वसुलाभ, ढंगले छिटो, छरितो र चुस्त दुरुस्त बनाउन मेरो क्षमताले भ्याएसम्म लागिपर्ने छु । खास काम गर्ने कर्मचारीहरुले हो । उहाँहरुलाई जनप्रतिनिधिहरुले जनताका गुनासाबारे जानकारी गराउनुपर्छ । कर्मचारीबाट सेवाग्राहीले सुविधा पाए÷पाएनन् त्यसको अनुगमन गर्नुपर्छ । के समस्याले कर्मचारी समयमा काम गर्न नसकेका हुन् ? त्यसको पहिचान गरी समाधानतिर लाग्नुपर्छ । त्यसको लागि म लागि पर्ने छु ।

काठमाडौं ३१ नम्बर वडाका जनताका जल्दाबल्दा समस्या के होला जस्तो लाग्छ ?

यहाँका जनताले वडा प्रतिनिधिहरुबाट त्यस्तो ठूलो आशा गरेजस्तो लाग्दैन । विकास निर्माणका ठूला–ठूला योजनाहरु चाहिएको होइन । काठमाडौंको अहिलेको जन्दोबल्दो समस्या भनेको खानेपानी, ढल, फोहोरमैला र ट्राफिक व्यवस्थापन हो । यी चारमध्ये एकदमै खड्किएको भनेको फोहोर व्यवस्थापन हो । त्यसको लागि घर–घर, टोल–टोलमा जनचेतना जगाउनुपर्ने आवश्यकता छ । जनतामा चेतना भएपछि फोहोरको समस्या धेरै हदसम्म समाधान हुन्छ । त्यसको लागि उहाँहरुलाई विभिन्न तालिमहरु गराउनुपर्छ । गोष्ठि, सेमिनार गरेर यसको महत्व र औचित्यबारे जानकारी गराउनुपर्छ । त्यो भयो भने उहाँहरु आपैmले आफ्नो फोहोर व्यवस्थापन गर्नुहुन्छ । नागरिकले सबै फोहोर गोलमोटल रुपमा सडकमा फाल्ने अनि नगरपालिकाले उठाएर लाने अनि विसर्जन गर्ने ठाउँको समस्या हुने वर्षौंदेखिको समस्या हो । त्यसलाई व्यवस्थापन गर्छ अब नागरिकबाटै अभियान थाल्नुपर्छ । खानेपानी र ढल व्यवस्थापन हो । त्यसपछि सडकका खाल्डाखुल्डी पुरपार गर्ने काम हो । त्योसँगै शान्तिसुरक्षाको कुरा पनि महत्वपूर्ण छ । त्यसको लागि ठाउँ–ठाउँमा सीसी क्यामेराको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि पहलकदमी गर्ने छु ।

ठूलो जनघनत्व भएको काठमाडौंमा वडा कार्यालय उपयुक्त ठाउँमा भएन, पार्किङदेखि सारा काममा समस्या छ भन्ने गुनासो छ नि यसलाई कसरी सहज गर्नुहुन्छ ?

त्यस्तो गुनासो आउनु स्वाभाविक हो । काठमाडौंको अहिलेको जनघनत्वलाई हेर्दा ३१ नम्बर वडा कार्यालय साँघुरो र पार्किङको लागि असुविधा छ । सेवाग्राहीहरुलाई धेरै समस्या परेको छ । पहिला थोरै सेवाग्राही हुनुहुन्थ्यो ठिकै थियो । अहिले सेवाग्राहीको संख्या बढेकाले एकदमै असुविधा भएको छ । त्यसको लागि हामीले यहाँबाट छिट्टै वडा कार्यालय सार्न लागेका छौं । सर्न लागेको ठाउँमा पार्किङको राम्रो सुविधा हुन्छ । काम गर्नको लागि सहज हुन्छ । ३१ नम्बर वडा कार्यालय छिट्टै नयाँवानेश्वरमा सर्दै छ । त्यहाँ गइसकेपछि हामी सर्वसाधारण जनताका समस्यासँग नजिकबाट बुझेर सहज रुपमा काम गर्ने वातावरण मिलाउँछौं ।

गाउँकोभन्दा शहरको वडा कार्यालयमा काम गर्न गाह्रो हुनुको कारण के हो ? आम्दानीको स्रोत बढी भएर होइन त होइन ?

पहिलो त गाउँको भन्दा शहरको जनसंख्याको चाप बढी हुन्छ । सेवाग्राहीको चाप बढी भएपछि काम गर्दा समय लाग्छ । थोरै मान्छे भएका ठाउँमा छिट्टै काम हुनु र धेरै भएको ठाउँमा समय लाग्नु स्वाभाविकै हो । अर्को यहाँका मान्छेहरु त्यति धेरै वडा कार्यालयमा आउँदैनन् । अनि उनीहरुलाई प्रक्रियाको बारेमा खासै थाहा पनि हुँदैन । त्यसले पनि झन्झटिलो लागेको हुनुपर्छ । त्यस्तो आम्दानी बढी भएर काम झन्झिटिलो बनाउने भन्ने हुँदैन । यदि त्यस्तो हुनेगरेको रहेछ भने त्यसलाई हामी निगरानीमा राख्छौं । र, आउँदा दिनमा जनतामैत्री वडा कार्यालय बनाउने छौं ।

वडा कार्यालयमा जनताले नजिकबाट अनुभूति गर्ने गरी हुने काम के जस्तो लाग्छ ?

खासगरी वडा कार्यालयले जनताले नजिकबाट अनुभूति गर्ने गरी हुने काम भनेको कतिपयलाई निवेदन लेख्न आउँदैन । कतिपयको कागजात फोटोकमपी गर्नुपर्ने हुन्छ । कतिपयलाई फारम भर्न आउँदैन । त्यस्ता सेवाग्रहीलाई सुविधा हुने गरी जनसपर्कमा सहयोगी राखेर अगाडि बढ्छौं । जसले सेवाग्रहीका फोटोकपी गर्ने, निवेदन लेख्ने, फारम भर्नेलगायतका कामको लागि सेवाग्राहीले बाहिर स्टेशनरी खोजेर हिड्नुनपर्ने गरी सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *