विभिन्न ठाउँमा सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं ।  सुनसरी, बारा, सप्तरी, महोत्तरी र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–५ बुढीपुलस्थित सडकमा यूपी ५७ एटी ३८३७ नम्बरको ट्रकले को.२८ प ८५४४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–२० बस्ने ५८ वर्षीया कृष्ण कुमारी खवास रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सडकमा ना.१ ज ७७६६ नम्बरको म्याजिकले ना.५३ प ९१३४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने  ३६ वर्षीय सदाम हुसेन ठकुराइ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामास्थित सडकमा ना.२ ख ९२१० नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साईकलयात्री सोही नगरपालिका–३ बरमझियाको तत्मा टोल बस्ने ३० वर्षीय चन्देश्वर दास रहेका छन् । उनको बिहीबार साँझ मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको एमडिएस अस्पताल रुपनगर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

महोत्तरीको बर्दिवास नगरपालिका–३ कारेभोगटे पुलमा ना.५४ प ८९५४ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्य कुमार मिस्त्री रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोलास्थित सडकमा बा.५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षीय जनक दाहालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *