स्थानीय तहमा कृषि शाखा अझै ओझेलमा   

बलेवा  । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले सशर्त बाहेकका योजनामा कृषि शाखालाई ओझेलमै राखेका छन् । पालिका तहमा कृषिको विकास नहुँनुमा दक्षप्राविधिक अभाव भएको र स्थानीय तहले प्राथमिकतामा कृषि शाखालाई नराखेको गुनासो आउन थालेको छ । लामो समयसम्म गाउँपालिका तथा नगरपालिकामा कृषि प्राविधिक नखटाउने र जनप्रतिनिधिले पनि कृषिको विकासलाई विकास नमान्ने प्रवृत्ति रहेको सरोकार वालालले बताए ।    
    
कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा जिल्लाका सबै पालिकाको कृषि शाखाको समन्वयात्मक बैठकमा सहभागी हुन आएका कृषि प्राविधिकले आफ्नो शाखा ओझेलमा परेको गुनासो गरे । उनीहरुले भौतिक विकास, सडक, खानेपानी र सिँचाइका आयोजना भए विकास मान्ने, तर कृषि फसल उत्पादन, सीप हस्तान्तरण र उत्पादनको बजारीकरणमा ध्यान नदिएको बताए ।    
    
विसं २०७४ मा स्थानीय निर्वाचन भएपछि लामो समयसम्म कुनैपनि पालिकामा कृषि शाखामा कर्मचारी र प्राविधिक शून्य भएको थियो । कर्मचारी अभावमा सामान्य सूचनासमेत पाउन नसकेर किसान पीडित भए । कृषि ज्ञान केन्द्र पनि नभएकोले सङ्घीयताको मर्मअनुसार किसानले सेवा पाउन सकेका थिएनन् । लामो समयपछि शाखा स्थापना भए पनि कर्मचारी भने अझै अभाव छ ।    
    
आगामी आर्थिक वर्षका लागि भने पालिका तहमा कृषि अधिकृत राख्न सरकारले बजेट विनियोजन गरेको छ । यद्यपि राजनीतिक दल र जनप्रतिनिधिले अझै कृषि तथा भेटेनरी क्षेत्र प्राथमिकतामा नपारेको प्राविधिकले बताए ।    
‘कृषिका धेरै कार्यक्रम सम्पन्न गर्नै सकिएन, केही कार्यक्रम प्राविधिक नभएकोले फिर्ता भए’ बरेङ गाउँपालिकाका कृषि प्राविधिक सोमराज रावतले भन्नुभयो,“समयमा बीउ पाउनेदेखि सीप र प्रविधि हस्तान्तरणका कामसमेत रोकिएका थिए ।” व्यावसायिक किसानले बजारीकरण गर्न नपाएको, समयमा मल बीउ पाउने अवस्था नभएको र कार्यपालिका बैठकमा पनि कृषिका फाइल अगाडि नबढ्ने समस्या भएको उहाँले गुनासो गर्नुभयो ।    
    
काठखोला गाउँपालिकाकी प्राविधिक सीता शर्माले कतिपय कार्यक्रम शाखाले हेर्नै नपाएको गुनासो गर्नुभयो । ‘ठूलो रकमका आयोजना कार्यपालिकाले सोझै प्रमुख प्रशासकीय अधिकृतमार्फत कार्यान्वयन गराउनुभयो’ शर्माले भन्नुभयो, “खर्चको सिलिङ मात्रै हामीले राख्यौँ ।’ के काम भयो, भनेर अनुगमन पनि गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । गलकोट, बडिगाड, तमानखोला र जैमिनीका प्राविधिकले पनि कृषि क्षेत्र उपेक्षामा परेको गुनासो गरे ।    
    
ताराखोला गाउँपालिकाका प्राविधिक कर्णखर भट्टराइले भन्नुभयोे,“कृषि क्षेत्रमा पर्याप्त बजेट र कार्यक्रम गर्न पाएको बताए । जनप्रतिनिधिले पनि कृषिमा चासो राखेकोले काम सजिलो भएको उहाँले भन्नुभयो ।” सबै प्राविधिकका गुनासा सुनेपछि जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले किसानले प्राविधिक र प्राविधिकले किसान चिन्ने र आफ्ना समस्या समाधान गर्ने वातावरण चाहिएको बताउनुभयो । जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र किसानबीचका समन्वयको खाँचो भएमा सञ्चार क्षेत्रले जोड्नुपर्ने उनको धारणा छ ।    
    
समन्वय प्रमुख थापाको अध्यक्षता, कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत दिनेश पाठकको स्वागतमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइ, भेटेनरी अस्पताल तथा पशुविज्ञ कार्यालयका प्रमुख ऋषिराम सापकोटा, पत्रकार महासङ्घका सचिव बिजय राना र सहायक प्रजिअ गणेशप्रसाद पौडेलले किसानको समस्या समाधान गर्न तत्कालको अवस्था सार्वजनिक गर्ने र आगामी योजना तय गर्नुपर्ने सुझाव दिनुभएको थियो ।    

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *