अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक : गृहमन्त्री खाण


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताए । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौँ उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कहिलेकाहीँ उल्झन हुने भएकाले त्यसतर्फ सतर्कता अपनाउनु जरुरी रहेको औँल्याए ।

“अपराधका सङ्ख्या पनि बढिरहेको छ, अपराधको स्वरुप र प्रवृत्तिमा पनि ठूलो परिवर्तन आइरहेको छ, नयाँ प्रविधि विज्ञानका कारणले अपराध नियन्त्रणमा केही सहजता भएको छ तथापि त्यसले अपराधमा वृद्धि हुँदा थप जटिलता पनि थपिरहेको छ, यसतर्फ राज्यको ध्यान गएको छ ” , उनले भने ।

नागरिकको जीवनरक्षा, उसको सम्पत्ति र धनको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै गृहमन्त्री खाणले यस सन्दर्भमा सुरक्षा निकायलाई सबल, सुदृढ, क्षमता अभिवृद्धिका साथै स्रोत साधन अभिवृद्धि गर्नु जरुरी रहेको बताए । त्यसप्रति सरकार प्रतिबद्धतापूर्वक लागिरहेको उनले बताए । अपराधको सङ्ख्या कसरी घटनाउने, नियन्त्रण कसरी गर्ने त्यसका लागि नेपाल प्रहरीले सीमित स्रोत र साधनका बाबजुद पनि प्रतिबद्धतापूर्वक जुन भूमिका निर्वाह गरिरहेको उनले बताए । उनले कोभिड महामारीको बेलामा नेपालका चिकित्सक, सरसफाइकर्मी, सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् ।

जनताको जीउधनको रक्षा, मुलुक र समाजमा शान्ति सुव्यवस्था सरकरको लक्ष्य रहेकाले र त्यसतर्फ दृढता र प्रतिबद्धताका साथ लाग्न उनले सुरक्षा निकायलाई आग्रह गरेका छन् । सुरक्षा निकायलमा साधन र स्रोतको अभाव रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले साधन स्रोत थप्ने, बन्दोबस्तीका सामान व्यवस्थापन गर्ने र सुरक्षा निकायको सक्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाणले अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक भएको बताए ।

उनले पूर्ववर्ती सरकारले केही दलसँग गरेको सम्झौता कार्यान्वयनमा सरकारका प्रतिबद्ध रहेको बताए । यसप्रति गृह प्रशासन र महान्यायाधिवक्ताको कार्यालयबाट आवश्यक सहयोग र समन्वय भइरहेको उनले बताए । उनले सहमति कार्यान्यनमा सरकार गम्भीर, प्रयत्नरत र इमान्दार रहेको स्ष्पष्ट पारेका छन् ।

उनले केही संवैधानिक र कानुनी जटिलता रहेकाले त्यसलाई सम्बोधन गर्दै सबैलाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको बताए । एउटा सरकारले प्रारम्भ गरेको प्रयत्न सरसकार बदलिए पनि जनतालाई प्रभाव पार्ने विषयमा त्यसलाई सरकारले निरन्तरता दिने पनि उनले बताए । शान्ति प्रक्रियालाई पूर्णता दिँदै मुलुकलाई अघि बढाउन र सबैलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन सरकारको सधैँ प्रयत्न रहिरहने पनि उनले बताए ।

समारोहमा महान्यायाधिवक्ता खम्बबहादुर खातीले नयाँ घटना हुने अवस्थामा त्यसको अनुसन्धानका लागि विशेषरुपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले निष्पक्ष, स्वतन्त्र, निर्विवाद, सत्यतथ्य र भौतिक प्रमाण बटुलेर अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै अनुसन्धान अधिकृतलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन् । उनले मुलुकी फौजदारी संहिताले अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई र अभियोजन गर्ने जिम्मा सरकारी वकिललाई दिएको जानकारी दिँदै सत्यतथ्यको आधारमा निचोड निकालियो भने पीडितलाई न्याय पाउने बताइन् ।

महान्यायाधिवक्ता खातीले अपराध नियन्त्रणको चुनौतीलाई सामना गर्न राज्यको प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । साइबर क्राइम र आर्थिक अपराधलगायतका जधन्य अपराध नियन्त्रणमा नयाँ नीति निर्माणको आवश्यकता औँल्याए । उनले साइबर क्राइमका मुद्दा काठमाडौँमा मात्रै दर्ता गर्ने अवस्थाको अन्त्यका लागि केही नेपाल ऐन संशोधन प्रक्रिाय अघि बढेको पनि जानकारी दिएका छन् ।

समारोहमा गृहसचिव टेकनारायण पाण्डेले प्रदेशगत रुपमा भएको आठवटा गोष्ठीबाट आएको निष्कर्षले अपराध अनुसन्धानको सीपलाई अझै मजबुद बनाउने विश्वास व्यक्त गरेका छन् । अपराधको स्वरुप बदलिएका कारण चुनौती बढी थपिएको उल्लेख गर्दै उनले भने, “विमानस्थलमा नागरिकले सामान्य लगेज ल्याउँदा स्क्यानसमा हाल्ने गर्छौं, तर कार्गो र फोहर व्यवस्थापनको स्क्यानर छैन, त्यस विषयमा संवेदनशील हुनुपर्छ ।”

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध नियन्त्रण र शान्ति सुरक्षाका हकमा सीमित स्रोत साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गरिरहेको उनले जिकिर गरेका छन् । उनले यसका लागि क्षमता विकास र प्रविधिको प्रयोग बढाउनुपर्ने तथा उपत्यकामा पाँच हजार सिसी क्यामरा रहेकाले अझै २५ हजार बनाउनुपर्ने अवस्था रहेको बताए । उनले साइबर क्राइमसम्बन्धीका मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्रै हेर्ने गरेको उल्लेख गर्दै कम्तीमा पनि प्रादेशिकरुपमा हेर्ने व्यवस्था गर्नु अति आवश्यक भएको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अपराधको परिभाषा नै नागरिकले बुझन नसकेको बताए । उनले बुबाआमाले आफ्ना छोराछोरीलाई कुट्ने गाली गर्ने, शिक्षकले बालबालिकालाई दुव्र्यवहार गर्ने कुरा उनीहरुको अधिकार भएजस्तो गरेर व्यवहार गरिएकाले त्यो पनि अपराध हो भनेर गाउँघरबाटै साक्षरता बढाउन जरुरी रहेको औँल्याए । उनले भौतिक उपस्थितिमा हुने अपराध कम भएको तर साइबर अपराध बढ्दो क्रममा रहेको बताए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महनिरीक्षक रवीन्द्रबहादुर धानुकले अपराध नियन्त्रणको चुनौतीपूर्ण अवस्थामा विद्यमान स्रोतसाधनको विस्तार तालिम र प्रविधिगत क्षमताको विकास कानुनी जटिलताको हल गरी स्पष्ट नीतिगत आधार निर्माणका लागि जिम्मेवार निकायको ठोस लगानी र प्रतिबद्धता आवश्यक भएको पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *