कतै तपाइँको घर वरपर पानी जम्ने ठाउँ र खाल्डाखुल्डी त छैन ?

काठमाडौँ । तपाईको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौँ उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाइँ पनि सङ्क्रमित हुनु हुनेछ । समयमा नै घर वरिपरी सफासुग्धर राख्यौँ भने डेङ्गु रोगबाट बच्न ससकिन्छ ।

साँझ(बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट अहिले दैनिक सयौं मानिस डेङ्गुको रोगबाट ग्रसित भएका छन् । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ । चिकित्सकले पानी ट्याङ्की, गाडीको डायर, वातावरण अनुकूल ९एसि०, गमला जस्तामा पानी जम्ने दिन नहुने र घर नजिकको खाल्डाखुल्डी पनि पुर्न आग्रह गरेका छन् । एसिबाट निस्केको पानीमा लामखुट्टेले फुल पार्ने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले घर वरिपरि पानी जम्ने संरचना हटाउनुपर्ने बताउनुहुन्छ । “अव्यवस्थित शहरीकरणले गर्दा घर वरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उहाँले भन्नुभयो, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” उहाँ डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगत रुपमा लाग्नुपर्ने बताउनुहुन्छ ।

व्यक्तिगत रुपमा आ(आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उहाँको सुझाव छ । निजामती कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाहे हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले पछिल्ला केही दिन सङ्ख्यात्मक हिसाबले डेङ्गुका बिरामी बढेकाले जनचेतना जगाउनुपर्ने बताउनुहुन्छ । उहाँले विरामी बढेसँगै उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइसकेकोे जानकारी गराउनुभयो । “हामीले सबै अस्पताललाई बिरामीको उपचार गर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छाँै” उहाँले भन्नुभयो, “काठमाडौँ र ललितपुर महानगरलाई पनि वडादेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ ।”

दुवै महानगरले पनि लामखुट्टेबाट बच्नका लागि वडा तहमा जनचेतनामूलक कार्यक्रमको साथै लामखुट्टेको लार्भालाई खोजेर मार्ने अभियान सञ्चालन गरेका छन् । वडा कार्यालयले लामखुट्टेबाट बच्नका लागि माइकिङ, पर्चा पम्पलेट समेत वितरण गरिरहेका छन् । महाशाखाका निर्देशक डा दासले डेङ्गुको परीक्षणका लागि सबै अस्पताललाई कीट उपलब्ध गराएको समेत बताउनुभयो । उहाँका अनुसार देशभरिका ६० जिल्लाका १३९ स्थानीय तहमा डेङ्गु रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पतालमा आउने सबै डेङ्गुका बिरामी रहेको बताउनुहुन्छ । “यतिबेला बहिरंग र आकस्मिकमा उत्तिकै भीड रहेका छन्,” उहाँले भन्नुभयो, “हामीले अस्पताल आएका बिरामीलाई उपचार गरेर पठाउने गरेका छौँ ।”

उहाँका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, पेट दुख्ने बान्ता हुने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतम दैनिक १५० देखि १७० बिरामी उपचार गर्न आइरहेका छन् । आकस्मिक सेवामा सवै शैय्या बिरामीले भरिएका छन् । आकस्मिक सेवामा २२ शैय्या रहेका छन् । उहाँका अनुसार अहिले ३१ जनाको भर्ना गरेर अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा डेङ्गु क्लिनिक

अस्पतालले डेङ्गुको बिरामीको उपचार गर्नका लागि छुट्टै क्लिनिक सञ्चालन गरेको छ । अस्पताल परिसरमा गत हप्ताबाट छुट्टै डेङ्गुका बिरामीको उपचार गर्नका लागि क्लिनिक सञ्चालन गरिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । क्लिनिकमा उपचार गर्न आएकामध्ये ८० प्रतिशतमा डेङ्गुका बिरामी देखिएका उहाँको भनाइ छ । तीमध्ये पाँच प्रतिशत मात्र भर्ना गरेर उपचार गर्न खालका बिरामी रहेको उहाँले बताउनुभयो । अस्पतालमा ७० शैय्या र २४ सधन उपचार कक्ष (आइसियु) रहेको छ ।

डेङ्गुबाट बच्न उपायहरु के हुन् त ?

एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझ-बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जाली ढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ-बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नु पर्दछ ।

वीर अस्पतालका उपनिर्देशक डा प्रज्ज्वल श्रेष्ठले पनि अस्पतालमा डेङ्गु रोगका बिरामी बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक दर्जनौँको सङ्ख्यामा डेङ्गुका बिरामी उपचार गर्न अस्पताल आइरहेका छन् । उहाँले डेङ्ग्ु रोगबाट बच्नका लागि सबैभन्दा पहिले आफैँ सचेत हुनुपर्ने बताउनुहुन्छ । अस्पतालमा अहिले पनि २९ जना बिरामीको उपचार भइरहेको उहाँले बताउनुभयो । विगत २४ घण्टामा ३६ जनामा डेङ्गु देखिएको उहाँको भनाइ रहेको छ ।

लार्भा खोज र नष्ट गर अभियान सञ्चालन

पछिल्लो समय लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेँगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । यो अभियान अहिले कामपाको ३२ वडाबाट सञ्चालन भइरहेको महानगरका जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलो अभियान चलाएको हो ।

पाँच दिनमा दुई हजार सङ्ख्या बिरामी

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पाँच दिनमा दुई हजार २०२ जनामा डेङ्गुका बिरामी थपिएका छन् । गत भदौ १४ गते दुई हजार ८२७ जनामा डेङ्गुका बिरामी भेटिएकामा भदौ १९ गते पाँच हजार २९ जनामा भेटिएका छन् ।

सेप्टेम्बर महिनामा मात्र तीन हजार ७०८ जना डेङ्गुका बिरामी फेला परेका छन् । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर, मकवानपुर र रुपन्देही जिल्लामा सबैभन्दा बढी डेँगुका बिरामी पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार सबैभन्दा बढी ललितपुरमा एक हजार ८३२ जना बिरामी रहेका छन् । यस्तै काठमाडौँमा ८८८ जना, मकवापुरमा ५९८ जना र रुपन्देहीमा ४३९ जना डेङ्गुका बिरामी भेटिएका छन् । गत भदौ १४ गते ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका थिए ।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा यही बिहीबारदेखि हिजो ९आइतबार०सम्म मात्र ललितपुरमा १७४ जना, काठमाडौँमा १२४ जना र मकवानपुरमा ४० जना बिरामी भेटिएका छन् । असार १५ गतेदेखि सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका हुन् । असार १५ देखि यतामात्र चार हजार ९५७ बिरामी भेटिएका छन् । यो सङ्ख्या भनेको कुल बिरामीको ९८ प्रतिशत हो । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं। १ मा २२१ जना, मधेश प्रदेशमा ७९ जना, वागमती प्रदेशमा तीन हजार ७२७ जना, गण्डकी प्रदेशमा १०१ जना, लुम्बिनी प्रदेशमा ७७० जना, कणरली प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा ९५ जनामा डेँगुका बिरामी रहेका छन् ।

बढी डेँगुका बिरामी १० जिल्लामा

डेँगुका बिरामी सबैभन्दा बढी १० जिल्लामा रहेका छन् । ती १० जिल्लामा मात्र कुल बिरामीको ८४ प्रतिशत डेङ्गुका बिरामी रहेका छन् । ललितपुरमा एक हजार ८३२, रुपन्देहीमा ४३९ जना, काठमाडौँमा ८८८ जना, मकवानपुर ५९८, धादिङमा १११ जना, भक्तपुरमा ९९ जना, तेह्थुममा ८८ जना, सिन्धुली ६६ जना, गुल्मीमा ५९ र सङ्खुवासभा ५७ जना बिरामी भेटिएका छन् । यी दश जिल्लामा मात्र चार हजार २३७ बिरामी रहेका छन् ।

नेपालमा यसअघि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यतिबेला सबैभन्दा बढी सुनसरीमा तीन हजार ४३१ जना, चितवन तीन हजार ४०२ जना, कास्की दुई हजार ८२४ जना, काठमाडौँ एक हजार ५८९ जना, ललितपुरमा ५९६ जना र झापामा ५२५ जनामा देखिएको थियो र छ जना डेङ्गुका कारणले ज्यान गएको थियो ।

नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका विरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, सन् २०१० मा ९१७ जना, सन् २०१३ मा ६८६ जना, सन् २०१६ मा एक हजार ५२७ जना, सन् २०१७ मा दुई हजार १११ जना, सन् २०१८ मा ८११ जना र सन् २०१९ मा डेङ्गु बढेको पाइन्छ । तीमध्ये सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेङ्गुका बिरामी देखिएका थिए ।

तराई-मधेशमा बढी देखिने डेङ्गु सन् २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा पर्न थालेको हो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *