गगन थापाको प्रश्न- संसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने उल्लेख गरे ।

‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौं । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौं । हामी यसमा चुक्यौं,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ? यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’

सांसद थापाले एक दुई महिनाका लागि सेवासुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै संसदको प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *