अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको अध्यक्ष तिमिल्सिनाले प्रशंसा गरेका छन् ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए । दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणको आदान प्रदानले विद्यमान सम्बन्धलाई गति दिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

“दुवै देशका संसदले आ–आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यास र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौँ” उनले भने, “दुवै संसद्मा नेपाल–फ्रान्स संसदीय समूह गठन भएकामा म खुसी व्यक्त गर्न चाहन्छु ।”

अध्यक्ष तिमिल्सिनाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको समर्थनको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण पनि गर्नुभयो ।

उनले कोभिड–१९ महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको ‘मेडिकल’ सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । “कोरोनाविरुद्धको खोप अभियानमा कोभ्याक्स सुविधामार्फत फ्रान्सको सहयोग प्राप्त गरेका छौँ”, उनले भने । दुई देशबीच व्यापार, पर्यटन र पूर्वाधारका क्षेत्रमा थप सहयोगको प्रशस्त सम्भावना रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

“युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु”, उनले भने । भेटमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न फ्रान्सले गरेको पर्यापर्यटन अभ्यासबारे जानकारी गराउँदै नेपाललाई यस सम्बन्धमा सहयोग गर्न फ्रान्स तत्पर रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *