बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनको श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् ।

वि.सं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए । दुवै बोल्न नसक्ने थिए । दम्पत्ति हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ । बोल्न नसक्ने आमाबुवा हराउँदा तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन् । छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र ६ वर्ष का छोरा सुवास समस्यामा छन् । माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् । आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताइन् । रामकलीले भनिन्, “सकेजति आमाबुवाको खोजी गरिहेका छौँ तर कहीँ कतै भेटिनुभएको छैन ।”

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताए । सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शाहीले भने, “अहिलेसम्म कहीँबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउँछौँ ।”

बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ । बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन । अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी भइरहन्छन् । हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताएका छन् । छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उनले बताए । एक दिन आउछन् भन्ने विश्वास रहेको उनको भनाइ थियो । माइली छोरीले पनि आमाबुवा बोल्न नसक्ने भएपनि हाम्रो साहारा ्हुनुहुन्थ्यो भनेकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *