पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न क्यान्सर रोगीको निःशुल्क उपचार


झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन शाहीले अर्थाभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताए । ‘विपन्न नागरिकले उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ’ उनले भने, ‘जो उपचारको पहुँचभन्दा टाढा छन् , उनीहरूको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो । अस्पतालका डा निराजन प्रसाईँले फाउण्डेशनमार्फत सिफारिस भएर आउने बिरामीको ७० लाख रुपैयाँ सम्म निःशुल्क उपचार गरिने जानकारी दिए । क्यान्सर रोगविरुद्ध लामो समयदेखि आफूहरूले काम गर्दै आएको र सामाजिक उत्तरदायित्वअन्तर्गत अनुप्रस्था फाण्डेशनसँग निःशुल्क उपचारको सम्झौता गरिएको उनले बताए । आफ्नै ब्याण्ड रहेको अनुप्रस्थाले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा साङ्गीतिक प्रदर्शनीका क्रममा अस्पतालको प्रचार–प्रसार गर्ने र अस्पतालले एक वर्षमा अनुप्रस्थामार्फत सिफारिस भएर आएका विपन्न क्यान्सर रोगीको निःशुल्क उपचार गर्ने सम्झौतापत्रमा उल्लेख भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । अस्पतालले हालसम्म एक हजार तीन सय नौ क्यान्सर रोगीको पहिचान गरी उपचार सहुलियतका लागि सिफारिससमेत गरेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *