कांग्रेस र लोसपाको निर्णयमा प्रचण्ड बाधक, किन लागे राजेन्द्र महतोविरुद्ध ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गरेका निर्णयमाथि हस्तक्षेप गर्न थालेका छन् । सत्तारुढ गठबन्धनले गरेका हरेक निर्णय र सहमतिमा हाबी हुँदै आएका प्रचण्डकै कारण लोसपा नेता राजेन्द्र महतोमाथि ठूलो घात भएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र लोसपा नेता महतोबीच धनुषा ३ मा उम्मेदवारीका विषयमा सहमति भएको थियो । निधिले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै महतोलाई सोही निर्वाचन क्षेत्रबाट लड्न सुझाव दिए । सोहीअनुसार अन्तिम समयमा आएर कांग्रेस र सत्तारुढ गठबन्धनबीच सात सिटमा सहमति भयो । गठबन्धनले लोसपाले उठाउने सात निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने भयो । सर्लाही २ का विषयमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति पनि भयो । उम्मेदवार मनोनयनका दिन महतोले सर्लाही २ बाट उम्मेदवारी मनोनयन गरे । धनुषा ३ मा अनिलकुमार झाले मनोनयन दर्ता गरे ।

सर्लाही २ मा नेपाल समाजवादी पार्टीका नेता महीन्द्र राय यादवले पनि उम्मेदवारी दर्ता गरे । त्यहाँ कांग्रेस र माओवादीले उम्मेदवारी उठाएनन् । तर, बुधबार एकाएक सत्तारुढ गठबन्धनको एउटा विज्ञप्ति प्रकाशित भयो । जसमा सर्लाही २ मा गठबन्धनको समर्थन महीन्द्र राय यादवलाई भएको उल्लेख गरियो । स्रोतका अनुसार यो विज्ञप्ति जारी गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहमत थिएनन् । तर, प्रचण्डले विभिन्न धाकधम्की दिएर विज्ञप्ति जारी गर्न लगाएको बुझिएको छ ।

यदि गठबन्धनले आफ्नो समर्थन कुनै एक नेतालाई नदिएको भए सो क्षेत्रमा महतो र यादवबीच कडा प्रतिस्पर्धा हुने थियो । तर, प्रचण्डकै कारण यादवलाई सहज भएको छ । प्रचण्डले यसो गर्नुको कारण निकट भविष्यमै नेपाल समाजवादी पार्टीलाई माओवादीमा विलय गर्ने हो । प्रचण्ड र बाबुराम भट्टराईबीच निर्वाचनलगत्तै पार्टी मर्ज गर्ने सहमति भइसकेको छ । सोही कारण यादवले जितेमा आफ्नो पार्टीको एउटा सिट बढ्ने प्रचण्डको बुझाइ छ । तर उनकै कारण लोसपा र कांग्रेसबीच दरार आएको छ । कांग्रेस भने महतोलाई समर्थन गर्ने पक्षमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *