सूर्या लाईफ र ज्योती लाईफको मर्ज सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ असार १२ गते सम्पन्न भइ बीमा समितिबाट २०७९ असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो ।अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ ।
मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारणसभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारणसभाले नयाँ संचालक समितिको चयन गर्नेछ ।
नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाईफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाईफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको सेयर सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर १ सेयर पाउनेछन् भने ज्योति लाईफका सेयरधनीले १ सेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब ४ अर्ब ५५ करोड पुग्नेछ ।
अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने र ति निकायहरुबाट स्वीकृती आए पश्चात २०७९ मंसिर मसान्त भित्रमा एकिकृत कारोबार संचालन गर्ने सहमति समेत भएको छ ।
मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क आव ०७८।०७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष २०.३६ अर्ब रुपैयाँ, जगेडा कोष १.४४ अर्ब रुपैयाँ, कुल लगानी २३.७८ अर्ब रुपैयाँ, खुद नाफा ३७.३७ करोड रुपैयाँ र कुल बीमा शुल्क ८.८६ अर्ब रुपैयाँ हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *