ओलीले विश्वप्रकाशलाई सोधे, घोषणा पत्र लेख्ने दुबै झापाली परेछौं


एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच झापाको भद्रपुर विमानस्थलमा जम्काभेट भयो। ओली चुनावी कार्यक्रमलाई सम्बोधन गर्न झापा पुगेका थिए भने शर्मा झापाबाट काठमाडौं फर्किँदै थिए।
विमानस्थलमा भेट भएपछि ओलीले शर्माले सोधे,चुनावी प्रचार छोडेर काठमाडौं, शर्माले आफू कांग्रेसको घोषणापत्र समितिको संयोजक रहेको र शनिबार घोषणापत्र सार्वजनिक गर्न काठमाडौं जान लागेको सुनाए।‘ म पार्टीको घोषणापत्र समितिको संयोजक हुँ, भोलि घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमका लागि काठमाडौं जाँदै छु,’ शर्माले भने। शर्माको जवाफ सुनेपछि ओलीले भने, ओहो, ठूला पार्टीका घोषणापत्र लेख्ने संयोजक दुबै झापाली परेछौं। घोषणा पत्रमा के के लेख्दै हुनुहुन्छ त ’ ओलीले कांग्रेसको घोषणापत्रमा चासो राखेपछि शर्माले धेरै कुरा रहे पनि संसद विघटन नगर्ने प्रतिवद्धता लेखिएको बताए। उनले मुलुकका ठूलो पार्टीको हैसियतमा एमालेले पनि आफ्नो घोषणापत्रमा त्यस विषय उल्लेख गर्दा संसदको कार्यकालबारे ठूला पार्टीको साझा दृष्टिकोण बन्ने र जनतामा राम्रो सन्देश जानेकुरा बताए।‘ हामीले घोषणापत्रमा त धेरै कुरा लेखेका छौं तर त्यसमध्ये म एउटा कुरा भन्न चाहन्छु। दलहरूको आन्तरिक झगडा र द्वन्द्वले संसद विघटन गर्दैनौं। सर्वोच्च अदालतको आदेशको समेत पालना गर्दै विकल्प हुन्जेलसम्म संसदलाई भंग गर्दैनौं भनेर प्रतिबद्धता जनाएका छौं,’ शर्माले ओलीलाई भने, ‘एमालेले पनि यसमा प्रतिबद्धता जनाएर संसदको कार्यकालबारे साझा दृष्टिकोण बनाए हुँदैन र ’
शर्माले संसद विघटन नगर्ने प्रतिबद्धताबारे प्रश्न गरेपछि ओलीले घोषणापत्र प्रेसमा गएको बताए। ‘घोषणापत्र त प्रेसमा गइसक्यो त, ओलीको जवाफ थियो।
त्यसपछि शर्माले लिखितमा सम्भव नभए पनि संसदको पूर्ण कार्यकालबारे बोलीमा प्रतिबद्धता जनाउँदा पनि राम्रो सन्देश जाने ओलीलाई सुझाए।‘ एमालेले पाँचै वर्षका लागि चुनाव लड्ने होला नि त, अढाई वर्षका लागि त होइन होला, शर्माले प्रश्न गरे। ओली मौन रहेपछि शर्माले चुनावमा देखिएको दलीय तिक्ततालाई कम गर्न दुबै पक्षबाट संयमित अभिव्यक्ति आउनुपर्ने धारणा राखे।
‘चुनाव नजिकिँदै जाँदा दलहरूबीच तिक्तता बढ्दै छ। दुबै पक्ष शालीन रूपमा प्रस्तुत हुनुपर्छ जस्तो लाग्छ। तपाईंलाई के लाग्छ, शर्माले ओलीको धारणा बुझ्न खोजे। ओलीले चुनावको समयमा विपक्षीप्रति संसारभर नै कडा अभिव्यक्ति दिने प्रचलन रहेको बताए। ‘चुनाव नजिकिँदै जाँदा संसारभरि नै विपक्षीप्रति कडा कुरा राख्दा रहेछन्,’ ओलीले भने। विमानस्थलमा विपक्षीप्रति कडा टिप्पणी राख्ने प्रचलन संसारभर रहेको जवाफ दिएका ओलीले झापा ३ को कार्यक्रममा पनि सत्ता गठबन्धनप्रति तीखो प्रहार गरे। कांग्रेस नेतृत्वको गठबन्धनले मुलुकको प्रतिष्ठा माटोमा मिलाएको उनको टिप्पणी छ।
‘यो घोषित रूपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो। जनताका लागि भने अत्यन्तै माटोमा सुतेभन्दा बढी कष्टप्रद छ। जनतालाई भिष्म पितामहले सरसैयामा सुतेजस्तो भएको छ,ओलीले भने।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *