नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी साढे ६६ प्रतिशत बढेपछि नाफा २३ प्रतिशतभन्दा धरै बढेको छ। बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर असोजमा बैंकको नाफा ९२ करोड रुपैयाँमा सिमित थियो। नाफासँगै वितरणयोग्य मुनाफा पनि ह्वात्तै उक्लिएको छ। बैंकसँग एक अर्ब ८० करोड रुपैयाँ वितरण योग्य नाफा छ। खासगरी आम्दानीमा बैंकले फराकिलो छलाङ लिएको हो। २ अर्ब १२ करोड रुपैयाँ बैंकले खुद ब्याज आम्दानी संकलन गरेको छ। ३३ करोड ३४ लाख रुपैयाँ कमिसनबाट आर्जन गरेको हो।
बैंकको कर्जा परिचालन निकै न्यून रहेपनि बढेको स्प्रेडले बैंकको ब्याज आम्दानी बढाएको छ। पोहोर असोजको तुलनामा १.२९ प्रतिशत विन्दुले स्प्रेड दर बढेको हो। बैंकको कर्जा परिचालन सुस्ताएपनि खराब कर्जा बढ्दा बैंकले प्रोभिजनिङ बढाएको छ। २८ करोड रुपैयाँभन्दा धेरै रकम बैंकले कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याएको छ। खुद नाफा बढे लगत्तै बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ। २.१९ रुपैयाँ बढ्दा बैंकको प्रति सेयर आम्दानी २४.९२ रुपैयाँ पुगेको छ। प्रति सेयर नेटवर्थ भने खस्किएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *