नरैनापुरवासी निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेकोे नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्सादमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि धान रोप्न नपाएका नरैनापुरवासीको यतिबेला भकारी रित्तिएको छ । खेतबारी पनि बाँभैm रहेको छ । अलि अलि रोपेको धान पनि असोजको अन्तिम साता आएको बर्सादले डुबाएको छ ।

धानको बीउ रोप्ने समय असार, साउन र भदौ तीन महिना खडेरी परेको नरैनापुरमा असोजमा आएको बेमौसमी बर्सादले अधिकांश क्षेत्र डुबान गरेको थियो । नरैनापुरवासी आम निर्वाचनभन्दा पनि खाद्यान्न जोहोको चिन्तामा छन् । “पानी पर्ने बेला नपरेर धान रोप्न पाइएन अलि अलि भएको पनि डुबान भएर स्याहार्न पाइएन”, नरैनापुर–६ निवासी सोहनलाल यादवले भन्नुभयो, “खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनावभन्दा पनि खाद्यान्न जोहो गर्नेमा चिन्ता छ ।”

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा जाने गरे पनि स्थानीयले चुनावप्रति त्यति धेरै चासो नदिएको उहाँको भनाइ छ ।

नरैनापुर गाउँपालिका–१ कटकुइँया निवासी प्रमोद मिश्राले सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था र सिँचाइ तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताउनुभयो । खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजनासाथ अगाडि बढेका नेकपा एमालेबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउनुभयो ।

बाँके क्षेत्र नं १ प्रदेश (१) मा पर्ने नरैनापुरमा सत्ता गठबन्धनबाट नेकपा माआवादी केन्द्रका नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार रहनुभएको छ । यो गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओवादीकी कृष्णा केसी उम्मेदवार हुनुहुन्छ भने एमाले राप्रपा तालमेलबाट राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीबाट अमर खड्का उम्मेदवार रहनुभएको छ ।

समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । धान रोप्ने समयमा लामो खडेरी भएका कारण धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले माग गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *