पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् । एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका खाणले आज भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन बनेको बताए । “तीनदलीय गठबन्धन प्रतिगमनको पक्षमा छ । प्रतिक्रिया गर्न सक्छ । तर यसले देश चलाउन सक्दैन”, उनले भने ।

पञ्चायतविरुद्ध वि.सं २०४६ मा र २०६२/६३ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र वाममोर्चा मिल्दा सफल भएको उल्लेख गर्दै उनले त्यतिबेला नागरिकमाथि दमन गर्नेलाई जनताले राम्रोसँग चिनिसकेको बताए ।

लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै उनले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुसीयालीमा बदल्न पनि पाँचदलीय गठबन्धन आवश्यक रहेको जिकिर गरेका छन् । व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्ने उनको भनाइ छ । उनले युवामाथि मुलुकले ठूलो भरोसा राखेको बताउँदै युवा ऊर्जाशील भएर उत्पादनमा जोडिनुपर्नेमा जोड दिएका छन् । खाणले अग्रगमन र रूपान्तरणको पक्षमा काम गर्न तरुण युवालाई आग्रह गरेका छन् ।

कार्यक्रममा पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेशसभा–३ (१)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवामा देखिएको उत्साहले पाँचदलीय गठबन्धनको जित सुनिश्चितजस्तै भएको दाबी गरेका छन् । उनले देशमै रोजगारीका अवसर सिर्जना गरेर युवालाई आत्मनिर्भर बनाउने स्पष्ट योजना र कार्यान्वय गर्न सक्ने क्षमता आफूहरूसँग मात्र भएको जिकिर गरेका छन् । उनले गृहमन्त्री खाण विगतमा तरुण दलको अध्यक्ष भएपछि धेरै युवामा आशाको किरण पलाएको र अहिले पनि मन्त्री खाणले युवाको विश्वासमा कमी आउन नदिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *