प्रचण्डले भने- आगामी निर्वाचनपछि म प्रधानमन्त्री बन्ने सम्भावना छ

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने आकांक्षा राखेका छन् । गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले आगामी सरकारको नेतृत्व गर्ने सम्भावना रहेको दावी गरे ।

उनले भने, ‘सुरेन्द्रराज पाण्डेजी यहाँबाट जितेपछि प्रदेशसभाको सामान्य सदस्य मात्रै होइन । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पुरै सम्भावना छ । अर्का उम्मेदवार फणिन्द्र देवकोटा पनि मन्त्री हुने सम्भावना छ । मलाई सुरेन्द्रजीहरुसहित सबैलाई भन्ने गरेको यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ ।’

जनताको बलियो साथ पाए सिंहदरबार र प्रदेश सरकारमा गोरखाको नेतृत्व हुने उनले सुनाए । उनले भने, ‘तपाईंहरुले हामीलाई बलियो बनाएर पठाउनु भयो भने हाम्रो तागत सिंहदरबार भित्र र प्रदेशसरकार भित्र भए पनि धेरै बलियो हुन्छ र गोरखाको विकास निर्माण र समृद्धिको यात्रा तीव्र गतिमा अगाडि बढ्छ ।’

‘म यसअघि रोल्पा र काठमाडौंबाट लडेको हो । मेरो आवश्यकता र उद्धेश्य देशलाई शान्तितिर लैजानु थियो । सिरहामा मधेशको विश्वास जित्न गएको हो’, उनले भने, ‘तेस्रो चुनाव मैले गृह जिल्ला चितवनमा लडें । चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरे ।’

उनले गोरखामा पनि विकास र समृद्धिको सपना बोकेर आएको उनले बताए । ‘धेरैले बाटोकै कुरा गर्नुभयो । सबै धुला बाटाहरुलाई पिच गर्ने वाचा गर्छु’, उनले भने, ‘गोरखकाली रवर उद्योगलाई पनि नयाँ योजना ल्याउँछु । माओवादी र कांग्रेस मिलिसकेपछि यहाँ असाधारण बहुमत आउँछ । देशमा अन्यत्र भन्दा गोरखामा अत्यधिक मत ल्याएर विजयी भएमा ठूलो सन्देश जान्छ ।’

दाहालले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए । ’गोरखाको जित संसारले देख्नुपर्छ । यहाँ हामीले राम्रोसँग मतदान गर्‍यौं भने यसको सन्देश संसारभर जान्छ ।’ प्रचण्ड गोरखा २ का प्रतिनिधि सभाका उम्मेदवारर हुन् भने, प्रदेशसभा सदस्यतर्फ ९१ मा नेसपाका नेता फणिन्द्र देवकोटा र (२) मा कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे चुनावी मैदानमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *