प्रचारप्रसारको समय १० दिन, शीर्ष नेताहरु चुनावी सभामा व्यस्त

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारको समय १० दिन मात्रै बाँकी हुँदा शीर्ष नेताहरु देश दौडाहमा व्यस्त छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा झण्डै एक सातादेखि उपत्यका बाहिर छन् । कात्तिक १६ गते गृह जिल्लाका लागि निस्कीएका प्रधानमन्त्री देउवा लगातार चार दिन चुनावी सभामा व्यस्त रहेका छन् ।

डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा हिजो साँझ धनगढी पुगेका छन् । उनी आज धनगढीमै हुने चुनावी सभाहरुमा व्यस्त हुने उनका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन् । विहान १० बजे पोखरा सभागृहमा हुने वृहत कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन परिचालन कमिटी, कास्कीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आज काठमाडौंमै व्यस्त रहने भएका छन् । केही दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा पुगेर फर्किएका प्रचण्ड भोलिदेखि भने सुदूरपश्चिम र कर्णालीका जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

मंसिर ४ गतेको चुनावका लागि मतदान सुरु हुनु ४८ घण्टा अघि अर्थात मंसिर २ गते देखि मौन अवधि सुरु हुन्छ । त्यसैले दलहरुले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *