निर्वाचन देशलाई हित गर्ने र देशलाई अप्ठ्यारोमा पार्नेबीचको सङ्घर्ष : बिजुक्छेँ र चन्द

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले यही मङ्सिर ४ गतेको निर्वाचन देशलाई हित गर्ने र देशलाई अप्ठ्यारोमा पार्नेबीचको सङ्घर्ष भएको बताउनुभएको छ । निर्वाचनको महामेलाका बारेमा आज रासससँग कुरा गर्दै उहाँले यो निर्वाचनमा आउने परिणामले देशको भविष्य निर्धारण गर्ने भएकाले आमनागरिकलाई धेरै सोचेर देश र जनताको पक्षमा उभिने दल र उम्मेदवारलाई रोज्न आग्रह गर्नुभयो ।

अहिलेको निर्वाचनलाई सामान्य रूपमा नलिन आममतदातालाई आग्रह गर्दै उहाँले नेपाललाई विदेशीको चलखेलबाट रोक्न, देश, राष्ट्र राष्ट्रियता, देशको सार्वभौमिकता र अखण्डता बचाउने दल र उम्मेदवारलाई मतदाताले रोज्नुपर्ने धारणा राख्नु भयो ।

सबै दलहरूको विगतका चुनावका घोषणापत्रमा रहेको के के कुरा पूरा गरे, अहिले कस्ता घोषणापत्र ल्याएका छन्, कतै भ्रम फैलाएर, प्रलोभनमा पारेर मत मागिरहेका त छैनन्, त्यसतर्फ मतदाता सचेत हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “देशको स्वतन्त्रता र सार्वभौमिकता बाँच्छ कि बाँच्दैन, नेपालको सिमानाभित्र विदेशीको हस्तक्षेप हुन्छ कि हुँदैन, विदेशीको गतिविधि हाम्रो देशभित्र हुन्छ कि हुँदैन, त्यसको ग्यारेन्टी दलहरुले गरेका छन् कि छैनन्, त्यसतर्फ मतदाता सचेत हुनुपर्छ ।”

नेमकिपा अध्यक्ष बिजुक्छेँले देशको रक्षाका लागि देशव्यापी सचेतना फैलाउने र पार्टीको भूमिका विस्तार गर्न नेमकिपाले यस पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ४९ जिल्लामा आफ्ना उम्मेदवार उठाएको जानकारी दिनुभयो । नेमकिपाले देशव्यापी रूपमा दिएको उम्मेदवारी मत सङ्कलन मात्रै नभई देशको रक्षार्थ आममतदातालाई सचेतना प्रदान गर्ने अभियान पनि रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले त्यसैगरी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

निर्वाचनको महामेलाका बारेमा आज रासससँग कुरा गर्दै उहाँले यो निर्वाचनलाई गहनरूपमा लिएर मतदाताले मतदान गर्नुपर्ने बताउनुभयो । विगतको तुलनामा निर्वाचन आयोग यो निर्वाचनमा धेरै सक्रिय रहेको भन्दै उहाँले यो सक्रियतालाई कायमै राख्नुपर्ने बताउनुभयो ।

मतदाताले मतदान गर्नु अगाडि राष्ट्र, राष्ट्रियता, देशको अखण्डतालाई आत्मासात गर्ने दल वा नेतालाई छान्नुपर्ने धारणा राख्दै उहाँले प्रजातन्त्रको आधारलाई मर्न दिन नहुने बताउनुभयो । गठबन्धन वा एक्लै जसरी चुनावमा भाग लिए पनि फैसला गर्ने जनता भएकाले फरक नपर्ने उहाँको भनाइ थियो । उहाँले अहिलेका जनताले धेरै बुझेर मतदान गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *