संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाउनुभयो ।

“विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारले संसद् विघटन गरेकाले सिङ्गो देशको विकासमा असर प¥यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले जनतामा राजनीतिक दलले गरेका कार्यप्रति वितृष्णा बढ्दै गएको बताउँदै त्यसलाई बदल्ने गरी अगाडि बढ्नका लागि संसद्मा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याउनुभयो । उहाँले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वको गठबन्धनले खेर नफाल्ने बताउनुभयो ।

लोकतान्त्रिक वाम गठबन्धनकोतर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिभित्रको विकृति अन्त्य गर्दै काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

“काठमाडौँ क्षेत्र नं ५ मा थुप्रै समस्या छन्, तर सात किलोमिटर बाटो कालोपत्र गर्ने मुद्दा लिएर जनप्रतिनिधि भोट माग्न हिँड्दैछन्, त्यस क्षेत्रको सबै समस्या समाधान गर्ने मेरो दायित्व हुनेछ”, उहाँले भन्नुभयो । काठमाडौँ क्षेत्र नं ५ लाई सांस्कृतिक सहरका रुपमा विकास गरिने उहाँको भनाइ छ ।

नेता पौडेलले राजधानी र राजनीतिलाई सफा गर्नका लागि आफू उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । राजधानीको दिगो र व्यवस्थित मार्गचित्र बनाउने आफ्नो योजना रहेको उहाँको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा (१) का उम्मेदवार भैरव सापकोटा र प्रदेशसभा (२)का उम्मेवार श्यामबहादुर खड्काले संविधानको रक्षा गर्दै काठमाडौँ क्षेत्र नं ५ को समग्र विकासका लागि गठबन्धनलाई भोट दिन मतदातालाई आग्रह गर्नुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *