मोरङमा एमाले–जसपा गठबन्धन कागजमै


काठमाण्डौं । धेरै सिट पाउने आशामा सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टी जसपालाई मोरङमा उल्टो क्षति हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धन र काँग्रेसलाई पराजित गर्दै जसपाले प्रदेशसभामा एक प्रत्यक्ष र २ समानुपातिक सिट प्रदेश १ बाट जितेकोमा मंसिर ४ गते हुने निर्वाचनमा त्यो पनि गुमाउने देखिएको छ । एमाले र जसपाबीच गठबन्धन बन्दा मोरङ क्षेत्र नम्बर ५ प्रतिनिधिसभासहित प्रदेशसभाको ५ २, ४ २ र ६ २ जसपाले पाउने सहमति थियो । तर, उम्मेद्वारी मनोनयनका दिन जसपासँगको सहमति लत्याउँदै एमालेले ४ २ र ६ २ मा आफ्नै उम्मेद्वारी खडा गर्यो ।
उम्मेद्वारी दर्ताबाट सुरु भएको खटपट मिलाउने नेताहरुले बताएपनि प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा त्यो अवस्था बनेको छैन । जसले गर्दा एमालेको भोट जसपाले नपाउने र जसपाको भोट एमालेले नपाउने निश्चित झैँ देखिएको छ । क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा जसपाका राजकुमार यादव उम्मेद्वार बन्दा एमालेका आधिकारिक उम्मेद्वार नभएपनि सो क्षेत्रको अधिकांश एमाले कार्यकर्ताले स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डललाई सहयोग गरिरहेका छन् । मण्डल प्रतिनिधिसभामा एमालेबाट एकल उम्मेद्वार सिफारिस भएपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बनेका हुन् ।
क्षेत्र नम्बर ५ २ मा एमालेको समर्थनमा जसपाबाट जयराम यादव उम्मेद्वार छन् । सत्तारुढ गठबन्धनमा आबद्ध भएर प्रदेश सरकारको स्वास्थ्य मन्त्री रहेका उनले अघिल्लो पटक बामगठबन्धन र काँग्रेसलाई पराजित गरेका थिए । तर, यस पटक एमालेको समर्थन पाएका यादव संकटमा छन् ।
जसपा र एमालेबीच प्रतिनिधिसभा विघटनको मुद्दामा होस् या नागरिकता विधेयकमा, परस्पर विरोधी दृष्टिकोण रहेको छ । जसको असर निर्वाचनमा देखिने निश्चित छ । सो क्षेत्रमा नेपाली काँग्रेसबाट प्रभावशाली नेता अमृत अर्याल उम्मेद्वार छन् । काँग्रेस मोरङको सभापति हुँदा एमाले मोरङका अध्यक्ष रहेका विनोद ढकालसँग पारिवारिक र व्यवसायिक सम्बन्ध रहेको मानिएका अर्यालले त्यही सम्बन्धको बलमा पनि एमालेको धेरै मत तान्ने देखिएको एमालेकै कार्यकर्ता बताउँछन् । ‘एमालेको सरकार ढालेर परमादेशी सरकारमा सामेल हुने अनि मन्त्रीको झण्डा हल्लाउँदै एमालेको भोट आशा गर्नु बेकारको कुरा हो,’ एक एमाले नेताले भने, ‘मधेसमा साम्प्रदायिक राजनीति गर्ने यादवको साटो अर्याललाई नै भोट दिन्छौं ।
मोरङको ५ १ मा जसपाको समर्थनमा एमालेका सन्तोषकुमार साह प्रदेशसभाको उम्मेद्वार बनेका छन् । मोरङको ४ २ र ६ २ मा आफ्नै उम्मेद्वार उठाएपछि एमाले नेताहरुले ५ का तीनवटै क्षेत्र जसपालाई दिने बताएका थिए । तर, त्यो सहमति पनि पालना गरेन एमालेले ।
जसपाको आफ्नो उम्मेद्वार नभएपनि मत भने साहले नपाउने स्थानीय जसपाका कार्यकर्ता बताउँछन् । मधेस आन्दोलनको केन्द्र रहेको रंगेली आसपास समेटिएको सो क्षेत्रमा एमालेले जसपाको मत नपाउने कारण मधेश आन्दोलनकै घटना पनि हो ।
२०७२ साल माघ ६ गते मधेस आन्दोलन चलिरहेको बेला एमालेले जबर्जस्ती सभा आयोजना गर्दा झडप भएको थियो । त्यस क्रममा जसपा तत्कालीन मधेशी जनअधिकार फोरमका तीन जना कार्यकर्ता दौपतीदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेवको मृत्यु भएको थियो । अधिकार माग्दा मधेसी नागरिकको हत्या गर्ने एमालेलाई कसरी भोट दिने भन्ने प्रश्न सो क्षेत्रका जसपा कार्यकर्ताहरुले अहिले गरिरहेका छन् । ‘जसले हाम्रा कार्यकर्ता मार्यो, उसैलाई कसरी भोट दिने रंगेली–५ धनापट्टीमा भेटिएका जसपाका कार्यकर्ता हिरालाल मण्डलले भने, ‘उपेन्द्रले एमालेसँग गठबन्धन गरेर ठूलो गल्ती गरे, एमालेलाई भोट हाल्न सक्दैनौं । एमालेलाई भोट हाल्न जसपाका कार्यकर्ताले नमान्ने अर्को कारण नागरिकता विधेयक पनि हो । ‘जसले नागरिकता विधेयकको विरोध गरेर आफ्ना छोराछोरीलाई अनागरिक बनाइराख्यो, उसैलाई भोट दिन सकिन्न, धनपालथान–७ कदमाहाकी रंगवती मण्डलले भनिन्, ‘बरु भोटै हालिन्न, एमालेलाई चाहिं दिँदैनौं । एमाले–जसपा गठबन्धन गर्दा मोरङ–४ प्रतिनिधिसभा र क्षेत्र नम्बर ६ को प्रतिनिधिसभामा पनि जसपाले एमालेलाई समर्थन गर्ने सहमति थियो । जसका कारण दुवै क्षेत्रमा जसपाका उम्मेद्वार छैनन् । तर, जसपाको भागमा परेको ४ २ र ६ २ को प्रदेशसभामा एमालेले आफ्नै उम्मेद्वार उठाएकोले जसपाले ती क्षेत्रमा एमालेलाई भोट नदिने एक नेताले बताए । ‘सहमति पनि कार्यान्वयन नगर्ने एमालेलाई किन भोट दिनु बरु प्रतिगमन विरोधी आन्दोलनमा सहयात्री रहेका सत्ता गठबन्धनका उम्मेद्वारलाई भोट हाल्छौँ, जसपाका एक अगुवा कार्यकर्ताले भने, ‘एमालेले दिएको धोकाको बदला उसलाई हराएर चुक्ता गर्ने गरी हामी लागेका छौं । जसपा र एमालेको गठबन्धन भएपनि त्यहाँ देखिएको खटपटको फाइदा भने सत्तारुढ गठबन्धनले लिने सम्भावना देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *