संसद् बैठकको तयारी तीव्र

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस भएसँगै सङ्घीय संसद् सचिवालयले अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मङ्सिर २९ गते अन्तिम परिणाम बुझाएपछि सचिवालयले तयारीलाई तीव्रता दिएको हो ।

सचिवालयले सङ्घीय संसद् भवनको मर्मत सम्भारलगायतका काम गरिसकेको छ । दलअनुसार सिट व्यवस्थापन तथा अन्य प्राविधिक पक्षको परीक्षण पनि सचिवालयले गरिसकेको छ । यस्तै दलको कार्यालय व्यवस्थापनलाई पनि सचिवालयले अन्तिम रूप दिएको छ ।

सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले व्यवस्थापनको तयारी सचिवालयले गरिरहेको बताए । उहाँले भन्नुभयो, “हामीले भौतिक पूर्वाधारदेखि अन्य आवश्यक तयारी गरिरहेका छौँ, । कुनै पनि बेला अधिवेशन बोलाइन सक्छ भनेर हामी तयारी अवस्थामा नै छौँ ।”

सचिवालयले राष्ट्रिय दलको मान्यता पाएका सात दलसहितका सबै दललाई कार्यालय व्यवस्थापन गर्नेछ । अघिल्लो पटक पाँच दलले राष्ट्रिय दलको मान्यता पाएकोमा यो पटक सात पुगेका छन् । यस्तै दसभन्दा बढी सिट जितेका दललाई पनि संसदीय दलको सुविधा उपलब्ध हुनेछ । राष्ट्रिय दलको मान्यता नपाएका दल तथा स्वतन्त्र सदस्यहरूलाई पनि सचिवालयले कार्यालय व्यवस्थापन गर्नेछ । सचिवालयले सचिवालय परिसर र हेलो सरकार कक्षमा दलको कार्यालय व्यवस्थापन गरेको छ ।

यो पटक नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाले राष्ट्रिय दलको मान्यता नपाए पनि कार्यालय पाउने छन् ।

यस्तै पाँच स्वतन्त्र सदस्यले पनि कार्यालय पाउने छन् । स्वतन्त्र सदस्यहरूलाई भने सचिवालय परिसरमा नै कार्यालय व्यवस्थापन हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई हेलो सरकार कक्ष रहेको स्थानमा कार्यालय व्यवस्थापन गरिएको छ ।

सचिवालयले सदस्यहरूलाई शपथसँगै यो पटक अत्यावश्यक कानुन, अन्तरिम नियमावलीलगायतका सामग्री पनि उपलब्ध गराउने छ । यसअघि सचिवालयले शपथपछि यस्ता सामग्री उपलब्ध गराएको थिएन ।

आधारभूत कानुन सचिवालयले सांसदहरूलाई उपलब्ध गराउनेछ । शपथसँगै सचिवालयले शपथको प्रमाणपत्र पनि सदस्यहरूलाई दिनेछ । सदस्यहरूलाई वितरण गरिने लोगो तयार भइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *