पर्यटकले दिक्क पारेपछि जापानको माउन्ट फुजीलाई पर्दाले छेकिंदै

जापानमा भने पर्यटकहरुले बढी फोटो खिचेपछि हिमालको दृश्य नै छोप्नुपर्ने स्थिति आइलागेको छ । विश्वमा सबैभन्दा धेरै तस्वीर खिचिएको पहाड हो, जापानको माउन्ट फुजी । हिउँले ढाकिएको माउन्ट फुजीको आकर्षक तस्वीर खिच्ने सबैभन्दा आइकनिक फोटो स्पट छ, फुजीकावागुचीको भन्ने ठाउँ । एउटा किराना पसलको छानोमै टुपुक्क फुजी हिमाल राखिएको जस्तो दृश्य देखिने फुजीकावागुचीकोमा निकै धेरै विदेशी पर्यटकहरु झुम्मिने, उनीहरुले यत्रतत्र फोहोर फ्याँक्ने र ट्राफिक नियम उल्लंघन गरेर गाडीहरु पनि जतासुकै पार्किंग गर्न थालेपछि स्थानीय बासिन्दाहरु आजित बने । उनीहरुको गुनासोपछि स्थानीय प्रशासनले उक्त किराना पसलको छानोमा बडेमाको कालो जाली राखेर फुजी हिमाललाई छेकिदिने भएको छ । इामानाशी सहरस्थित उक्त ठाउँमा पुग्ने पर्यटकहरु फुजी हिमालको दृश्यबाट यतिधेरै मुग्ध हुन्छन् कि कतिपय त अझै राम्रो दृश्य कैद गर्न भन्दै किराना पसलको छानोमा चढ्दछन् । फुजी हिमालको दृश्यलाई छेक्नका लागि साडे २ मिटर चौडा र २० मिटर अग्लो जाली टाँग्ने कार्य यहीँ हप्ताबाट सुरु गरिने अधिकारीहरुले बताएका छन् । अधिकारी भन्छन् – हामीलाई यस्तो कार्य गर्नुपर्दा दुःख लागेको छ । कतिपय पर्यटकहरुले नियम कानुनको सम्मान नगरेका कारण यस्तो गर्नु परेको हो । हिमाल छेक्ने जालिदार पर्दा राख्नु अगाडि त्यहाँ विभिन्न सूचना तथा चेतावनीमूलक सन्देशहरु राख्नुका साथै सुरक्षाकर्मीहरुको परिचालन गरेर समेत पर्यटकहरुलाई सम्झाउने प्रयास गरिएको थियो । तर, पर्यटकहरुले टेरपुच्छर लगाएनन् । स्मरण रहोस् कोभिड(१९ महामारी सकिएसँगै जापानमा पर्यटकको संख्यामा उच्च वृद्धि भैरहेको छ । गत मार्च महिनामा ३० लाख विदेशी पर्यटक जापान पुगेका थिए । तर, बढ्दो पर्यटकको संख्याले विभिन्न समस्याहरु पनि निम्त्याएको छ । फुजी हिमाल चढ्ने मानिसहरुको पनि ठूलो भीड लागेसँगै यो गृष्मयामबाट फुजी हिमाल चढ्नका लागि १३ डलर शुल्क तिर्नुपर्ने नियम बनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *