काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको प्रतिष्पर्धा, कस्तो छ अंक गणित ?

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।

मंगलबार बिहान भएको संस्थापन इतरको भेलाले नेता डा. शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेतामा उम्मेदवार बन्ने सहमति भएसँगै अब देउवा र थापाको भिडन्त हुने भएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरि ८९ सांसद छन्, जसले संसदीय दलको नेताका लागि मतदान गर्ने छन् ।

कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम अनुसार आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि ५१ हजार शुल्क तोकेको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने कार्यक्रम रहेको छ ।

संसदीय दलको नेता चुन्ने प्रक्रिया :

कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेता चयनको व्यवस्था रहेको छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था विधानले गरेको छ ।

विधानको दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने व्यवस्था रहेको छ ।

पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ । निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ ।

कांग्रेसको कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिसकेर निर्वाचन कार्यक्रमसमेत सार्बजनिक भइसकेको छ ।

कस्तो छ अंकगणित ?

कांग्रेसको प्रतिनिधिसभामा रहेको अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेका छन् । जसले संसदीय दलको नेता चयन गर्न मतदान गर्ने छन् ।

दलको नेता बन्न यस अवस्थामा ४५ मत आवश्यक हुन्छ । निर्वाचनको नतिजा विश्लेषण गर्दा सभापति देउवाको पक्षम प्रत्यक्षतर्फ ३३ र समानुपातिकतर्फ २२ सांसद रहेको देखिन्छ । त्यस्तै संस्थापन इतरमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १० गरि ३४ सांसद रहेको देखिन्छ । यसरी सांसदहरु आफ्नो पक्ष परिवर्तन गरेनन् भने सभापति देउवा सजिलै संसदीय दलको नेता चयन हुने सम्भावना देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *