संस्थापन इतरबाट गगन थापा संसदीय दलको नेतामा साझा उम्मेदवार, थापालाई सघाउन शेखर कोइराला तयार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट महामन्त्री गगन थापा साझा उम्मेदवार बन्ने भएका छन् । थापालाई समर्थन गर्न डा. शेखर कोइराला तयार भएपछि उनी साझा उम्मेदवार बन्ने भएका हुन् ।

साझा उम्मेदवार तय गर्न दुई दिनदेखि थापा र कोइराला पक्षबीच छलफल चलेको थियो । मंगलबार बिहान भएको छलफलमा थापालाई उम्मेदवार बनाउन सहमति जुटेको एक नेताले बताए ।

लाजिम्पाटस्थित ‘होटल एम्बेसडर’ मा मंगलबार बिहान भएको छलफलमा महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाका साथमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू र अर्जुन नरसिंह केसी लगायतको सहभागिता थियो ।

केही नेताहरु हनुमानथानस्थित बसेरा होटलमा छलफलमा जुटेका थिए । कांग्रेस संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ ।

दिउँसो साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुने छ भने साढे ३ देखि ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइने छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका उम्मेदवारले साढे ५ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् ।

बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस ६ गते बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लाति मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *