चीन र भारतमा कोरोना संक्रमण बढ्दो, नेपालमा भने पूर्वतयारी नै छैन

भैरहवा । चीन तथा भारतमा कोरोना संक्रमण फेरि तीव्र दरमा फैलिँदै गएको छ । छिमेकी मुलुकमा कोरोनाका बिरामी बढिरहँदा नेपाल-भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला सीमामा बेरोकतोक आवतजावत चलिरहँदा नागरिकले पनि सावधानी अपनाउनुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ ।

पुस लागेयता मात्रै रूपन्देहीको बेलहिया नाका भएर झन्डै २५ हजार भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन् । १ हजार ५८ वटा भारतीय जिप र कारबाट समेत पर्यटक नेपाल प्रवेश गरेको तथ्यांक छ । सोही अवधिमा भारतबाहेक ३७ मुलुकका १ हजार ३ सय ३४ नागरिक यो नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर यस अवधिमा नाकामा रहेको हेल्थ डेस्कबाट ६ सय ७६ जनाले मात्रै एन्टिजेन परीक्षण गराएका छन् ।

यसरी नेपाल भित्रिने विदेशी नागरिकले आफूले खोप लगाएको प्रमाणपत्र वा ७२ घण्टाभित्र पिसिआर परीक्षण गरेको रिपोर्ट पेस गरे पुग्छ । सुदूरपश्चिमको गड्डाचौकी, गौरीफन्टा तथा लुम्बिनी प्रदेशको जमुनाहा र कृष्णनगर नाकाबाट पनि बिनापरीक्षण निर्वाध आउजाउ चलिरहेको छ । यात्रा गर्ने नागरिकले सामान्य सतर्कतासमेत अपनाएको देखिँदैन । स्वेच्छाले परीक्षण गर्न केही नागरिक आए पनि आउजाउमा कुनै रोकटोक छैन ।

प्रदेश एक तथा मधेस प्रदेशमा रहेका मुख्य नाकाहरूबाट पनि बिना कुनै सावधानी सहज आउजाउ भइरहेको छ । प्रवेश बिन्दुमा रहेका हेल्पडेस्क तथा स्वास्थ्य संस्थाहरूले समयमै आवश्यक स्क्रिनिङ, स्वास्थ्य परीक्षण तथा निगरानी बढाउनुपर्ने आवश्यक देखिएको छ । अहिले गरिएको हेलचेक्र्याइँ पछि अवस्था नियन्त्रणबाहिर जानसक्नेतर्फ सम्बन्धित निकायले समयमै सोच्नु बुद्धिमानी हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *