सांसद टेकबहादुर गुरुङ र लक्ष्मी महतोलाई संसदीय गतिविधिमा संलग्न नगराउन पत्राचार

काठमाडौं । कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन विकको हत्या आरोपित महोत्तरी-१ बाट निर्वाचित कोइरी प्रहरीको फरार सूचीमा छन् । आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

त्यस्तै मनाङबाट निर्वाचित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर गरेको अझै विचाराधीन छ । संसद् सचिवालयले बिहीबार उनीहरु दुवैलाई शपथ गराएको थियो । सम्बन्धित निकायबाट कुनै जानकारी नआएको भन्दै सचिवालयले उनीहरुलाई शपथ गराएको थियो ।

उच्च अदालत जनकपुरले महतोलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो । तर, अझै उनी पक्राउ परेका छैनन् । उनी निर्वाचनमा समेत वारेसबाट उम्मेदवारी दिएका महतो चुनाव जितेपछि वारेसबाटै विजयी प्रमाणपत्र बुझेका थिए । प्रहरीले संसद् सचिवालयमा पठाएको पत्रअनुसार उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएकोले कार्यान्वयनका लागि सहयोग गरिदिन भन्दै प्रहरीले सचिवालयमा पत्र पठाएको हो । प्रहरीले सचिवालयलाई अदालतको आदेशसमेत पठाएको छ ।

त्यस्तै अख्तियारले मनाङबाट निर्वाचित गुरुङमाथि भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन रहेकाले कुनै पनि संसदीय गतिविधिमा सहभागी नगराउन आग्रहसहितको पत्र पठाएको छ । काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीसहित १६ जनाविरुद्ध ०७५ माघमा मुद्दा दायर गरेको हो । अख्तियारले गुरुङविरुद्ध मात्रै ३१ करोड रुपैयाँको बिगो मागदाबी गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *