सभामुख र राष्ट्रपतिको पद कसलाई दिनेबारे दलहरुबीच त्रिकोणात्मक संघर्ष

काठमाडौं । राज्य सञ्चालनमा महत्त्वपूर्ण मानिने राष्ट्रपति र सभामुख पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच त्रिकोणात्मक संघर्षको स्थिति देखापरेको छ ।

कांग्रेस सभापति देउवा आफ्नो दलले राष्ट्रपति लिने मौकाको खोजीमा छन् भने प्रधानमन्त्री दाहाल सभामुख र राष्ट्रपतिमध्ये एउटा पद कांग्रेसलाई दिन सहमत छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्षसमेत रहेका ओली दुवै पद एमालेले नै पाउनुपर्ने अडानमा छन् ।

ओली निवास बालकोटमा पुस १० गते भएको छलफल अनुसार माओवादीले प्रधानमन्त्री पाएको र राष्ट्रपति एमालेले पाउने अनि सभामुखमा आलोपालो गर्ने सहमति भएको एमालेको दाबी छ ।

राष्ट्रपति र सभामुख एमालेलाई दिने गरी बालकोटमा सहमति जुटेको दाबीलाई माओवादी नेताहरुले पनि अस्वीकार गरेका छैनन् । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिइसकेपछि पुस १० को परिस्थिति फेरिएको र कांग्रेसलाई पनि विश्वासमा लिनुपर्ने दायित्व प्रधानमन्त्रीमा सिर्जना भएको माओवादी नेताहरुको जिकिर छ । तर यसमा सत्ता पक्षभित्रै कुरा मिलेको देखिन्न ।

प्रधानमन्त्री निवासमा मंगलबार साँझ बसेको कांग्रेसहितको सर्वदलीय बैठकमा ओलीले दाहाललाई पुस १० को सहमति सम्झाए भने दाहालले विश्वासको मत पाइसकेपछि पहिलेको स्थिति फेरिएको भन्दै कांग्रेसलाई समेट्नुपर्ने अडान दोहोर्याए । तर, असहमतिकै बीचमा (बिहीबार) सभामुखको चुनाव हुन लागेको छ ।

संसदमा विश्वासको मत पाएपछि प्रधानमन्त्रीले कांग्रेसलाई समेत विश्वासमा लिने प्रयास गरे पनि सत्ता साझेदार एमाले भने बालकोटको सहमतिमा टेकेर दाहालको इच्छा पूरा हुन दिने पक्षमा देखिँदैन । त्यसैले यो त्रिकोणात्मक द्वन्द्वको स्थिति आगामी राष्ट्रपतिको निर्वाचनसम्मै लम्बिने देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *