“दाताहरूको सानो सहयोगले भिनाजुको ज्यान जोगिन्थ्यो”

काठमाडौँ । कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन् । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उनको अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सकेका छैनन् ।

“आन्द्रामा समस्या देखिएपछि चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गरायौँ”, पीडित चौधरीका छोरा लक्ष्मणले भने, “आफन्त, चिनेजानेका व्यक्तिबाट रु चार लाख ५० हजार जम्मा गरी खर्च गरेर उपचार गरायौँ, उपचारपछि हिँडडुल गर्न सक्ने हुनुभयो ।”

“अस्पतालको सल्लाहमा भारतमा थप उपचारका लागि लग्न भनेपछि लग्यौँ”, उनले भने, “उपचार गराउनकै लागि ७० हजार भारतीय रुपैयाँ ऋण गरेर उपचार गरायौँ, जाँच गर्दा आन्द्रामा क्यान्सर देखियो ।”

क्यान्सर देखिएपछि अझै उपचार गर्नुपर्ने भएकाले रकम अभाव भएको उनको भनाइ छ । उपचार खर्च नहुँदा चौधरी परिवारले धनबहादुरको उपचार गराउन सकेका छैनन् । घरमा कमाउने भनेकै धनबहादुर हुन् । उनले बोरिङ गाड्ने ठेक्का लिएर काम गर्दै आएका छन् । सोही रकमबाट रहेका दुई छोरा र श्रीमतीको खर्च धान्दै आएका थिए ।

घरका एक्ला कमाउने व्यक्ति ओछ्यान परेपछि परिवारलाई दुई छाक जोहो गर्न मुस्किल भएको पीडित धनबहादुरका साला रमेश चौधरीले बताए । “जग्गाका नाममा घरबासका लागि मात्रै जग्गा छ”, उनले भने, “त्यसमा बनेको सानो झोपडीमात्रै सम्पत्तिका रूपमा रहेको छ, उपचार खर्च अभाव भएपछि दातृ निकायलाई गुहार्दै हिँडेका छौँ ।” बजार क्षेत्रमा व्यानरसहित सहयोग रकम जुटाउन लागे पनि उपचारका लागि पुग्ने खर्च जुट्न नसकेको उनले बताए ।

“दाताहरूको सानो सहयोगले भिनाजुको ज्यान जोगिन्थ्यो”, उनले भने, “त्यसका लागि सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई सहयोगको याचना गर्दै हिँडेका छौँ ।” नगरपालिका र प्रदेश सरकारसँग सहयोग रकम माग्नका लागि आवश्यक कागजपत्र बुझाए पनि सहयोग रकम भने अहिलेसम्म पाउन नसकिएको उनको गुनासो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *