राष्ट्रपतिको निर्वाचनमा राप्रपा तठस्थ बस्न सक्ने, लिङ्देन फकाउँदै ओली

काठमाडौं । दुई महिनाअघि सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिन्तामा छैनन् । एमालेलाई माओवादीले राष्ट्रपतिमा समर्थन नगरेको निहुँमा राप्रपा सरकारबाट बाहिरिएको हो भने गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएको झोकमा रास्वपा सरकारबाट ४२ दिनमै बाहिरिएको हो ।

सत्ता गठबन्धनबनबाट बाहिरिएको राप्रपाभित्र असन्तुष्टि भुसको आगोझैँ बढ्दैछ । सरकारमा जाने वा नजाने भन्नेमै विवादित राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति अहिले राष्ट्रपति चुनावमा भाग लिने कि नलिने भन्नेमा विभाजित छ । त्यही विवादका कारण फागुन १२ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको चुनावमा समर्थक र प्रस्ताव नबस्ने निर्णय गरेको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओलीसँग ट्युनिङ मिल्ने ठानिएका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले उम्मेदवारको समर्थक वा प्रस्तावक बस्न सक्ने अनुमान गरिएको थियो । राप्रपाभित्र राष्ट्रपति चुनावको पक्षमा उभिन नहुने मत पनि रहेको छ । यो मतका पक्षधर राजावादी पार्टीले राष्ट्रपतिमा मतदान गर्न नहुने धारणा राखिरहेका छन् ।

पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, जगत गौचनलगायतका दर्जन नेताहरू राष्ट्रपतिको चुनावमा भाग लिन नहुने पक्षमा छन् । महामन्त्री धवलशमशेर राणा पनि राष्ट्रपतिमा मतदान गर्न नहुने पक्षमा छन् । प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि औपचारिक रूपमै राष्ट्रपतिमा मतदान गर्न नहुने बताइरहेका छन् । पार्टीभित्र बढ्दो असन्तुष्टिका कारण फागुन १८ गते केन्द्रीय समिति बैठक बस्ने तयारी छ । केन्द्रीय समितिबाट धारणा बनाएर राष्ट्रपति चुनावमा भाग लिने वा नलिने निर्णय लिने बताइएको छ ।

राप्रपाका मन्त्रीहरूले प्रतिनिधिसभा बैठक र मिडियामा खुला रूपमा राजतन्त्र स्थापना र संघीयताको विरोधमा बोल्न थालेदेखि नै प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसदहरूले राप्रपाका मन्त्रीहरूले संघीयताको विरोध र राजतन्त्र स्थापना गर्न खुलेयाम बोलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेपछि प्रचण्डले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको सो चेतावनीपछि राप्रपा आक्रोशित बनेको थियो । त्यसपछि पनि राप्रपाका सांसद र नेताहरू प्रधानमन्त्रीमाथि खनिरहे ।

स्रोतका अनुसार स्थिति कतिसम्म पुगिसकेको थियो भने प्रधानमन्त्री प्रचण्ड राप्रपाका सबै मन्त्रीलाई बर्खास्त गर्ने मनस्थितिमा पुगेका थिए । राष्ट्रपति निर्वाचनको मुखमै राप्रपाका मन्त्रीहरूलाई निकाल्ने मनस्थितिमा रहेका प्रचण्ड अहिले राप्रपाका चारै मन्त्रीले राजीनामा दिएपछि खुसी भएका छन् । राप्रपाको यो निर्णयलाई प्रचण्डले खुला ढंगले स्वागत गरेका छन् । विचार नमिलेका पार्टीलाई सरकारमा राखेर हिँड्न नसक्ने निष्कर्षमा प्रचण्ड पुगेको नेताहरू बताउँछन् ।

एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सरकारबाट हटे पनि समर्थन कायमै राख्न दबाब दिइरहेका छन् । एमालेले केन्द्रमा सरकारबाट फिर्ता नहुनुको कारण पनि आफ्ना मुख्यमन्त्रीको कुर्सी जोगाउन रहेको देखिएको छ । त्यसमाथि आफ्नो पार्टीले राष्ट्रपति पदमा उठाएका सुवासचन्द्र नेम्बाङलाई जिताउन भन्दै ओलीले लिङ्देनलाई पत्र पठाएका छन् । उनले पहिलेको गठबन्धनको सहयात्री भन्दै फकाइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *