प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा जाने

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रचण्डले दोस्रोपटक संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चैतको पहिलो साताभित्रै विश्वासको मत लिने तयारी थालेका हुन् । फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए । सरकारमै सामेल राष्ट्रिय स्वतन्त्र पार्टी भने त्यसअघि नै सरकारबाट बाहिरिएको थियो । रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेज र गृह मन्त्रालय सो पार्टीले नपाएपछि सरकारबाट बाहिरिएको थियो ।

प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी थालेका हुन् । त्यसैले उनले चैत १३ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ ।

एमाले, राप्रपा, रास्वपासहित सात दलको समर्थनमा गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। उनले पहिलोपटक पुस २६ गते कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत आठदलीय गठबन्धन बनेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बुझिएको छ । यसबारे प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूसँग अनौपचारिक छलफल सुरु गरेका छन् । अहिले निर्वाचन आचारसंहितका कारण मन्त्रिपरिषद् विस्तारमा बाधा उत्पन्न भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै नेपाली कांग्रेस सरकारमा जाने तयारीमा लागेको छ ।

कांग्रेसले नौवटा मन्त्रालय लिने मोटामोटी पक्का भएको छ । तर रास्वपा सरकारमा सामेल भएमा कांग्रेसले एक मन्त्रालय कम पाउने छ । रास्वपा अहिले दुई मन्त्रालयसहित सरकारमा जाने र रवि लामिछानेले उपनिर्वाचन जितेर आएमा महत्वपूर्ण मन्त्रालय दिने आन्तरिक तयारी भएको स्रोतले बतायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *