बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत


काठमाण्डौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् । उनलाई ६७ सांसदले विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ र ७ जना सांसदले तटस्थ मत प्रदान गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । ११० सांसद रहेको बागमती प्रदेशमा सरकार संचालनका लागि ५६ सांसदको विश्वासको मत आवश्यक पर्छ । केन्द्रमा सत्तासमिकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् । पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जमकट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १०५ सांसदको विश्वासको मत प्राप्त गरेका थिए भने प्रदेश सभामा उपस्थित सात मध्ये छ दलको समर्थन थियो । नेमकिपाका ३ सांसदले मात्र उनलाई विश्वासको मत दिएका थिएनन् । तर शुक्रबार उनलाई माघ ३ गते विश्वासको मत दिएका दलहरु नेकपा एमाले र राप्रपाले मत दिएनन् । अब प्रदेश सभामा नेकपा एमाले, राप्रपा र नेमकिपा प्रतिपक्षमा रहनेछन् । संसदको सबैभन्दा ठुलो दल भएर पनि सरकारबाहिर रहेको नेपाली कांग्रेसको भने सरकारमा ‘इन्ट्री’ हुने भएको छ । प्रदेशसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बताएका छन् । बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *